कपिलवस्तुको शिवराजमा १८० जनालाई जग्गाधनी लालपुर्जा
कपिलवस्तु, चैत २३ : कपिलवस्तुको शिवराज नगरपालिकाका १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ। नगरको २, ३ र ५ नं वडामा रहेका पाँच...
कपिलवस्तु, चैत २३ : कपिलवस्तुको शिवराज नगरपालिकाका १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ। नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कैलाशनाथ पाण्डेले बताए। लामो समयपछि लालपुर्जा पाएकामा समस्यामा रहेका गाउँ ब्लकका बासिन्दा खुसी भएका छन्।
लालपुर्जा वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले नापी भएर पनि लामो समयदेखि लालपुर्जा नपाएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको बताए। शिवराजका अन्य वडाहरूमा पनि गाउँ ब्लक रहेको र निरन्तर लालपुर्जा वितरण गरिने उहाँले जानकारी दिए। लालपुर्जा पाएका नागरिक स्थायी बासिन्दाका रूपमा रहेकाले अब सरकार तथा अन्य निकायले प्रदान गर्ने सेवा तथा सुविधा पनि पाउने नगरप्रमुख अधिकारीले बताए। उनले २०२६ देखि नाप जाँच सुरु भए पनि लालपुर्जा वितरणको काम भर्खरै सुरु भएको नगरभरका यो समस्यालाई समाधान गर्न आग्रह गरे।
नगर उपप्रमुख शिवकुमारी थारूले वर्षांैंदेखि लालपुर्जा माग गर्दै आएका नागरिकले पुर्जा पाएको बताए। कपिलवस्तुमा २०२६ सालदेखि सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो। हालसम्म जिल्लाका साबिक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ। उक्त नगरपालिका–३ बलुहवाका विश्वनाथ थारू लालपुर्जा पाएपछि खुसी हुँदै भने, 'लालपुर्जा पाउने आश मरेको भए पनि अहिले पाउँदा खुसी लागेको छ।'












