हवाइजहाजको ककपिटमा प्रवेश गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं, चैत २२ : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोसन पुरीले एक बिज्ञप्ति जारी गर्दै स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयम् सचेत र स्पष्ट हुनुपर्ने जनाएको हो । बिज्ञप्तिमा भनिएको छ,‘पत्रकारहरु समाचार संकलनका लागि स्वतन्त्र हुनपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा दृढ छ । त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पुर्याउन सम्भव हुन्छ । तर, यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयम् सचेत र स्पष्ट हुनुपर्दछ ।’
हवाइजहाजको ककपिट जस्तो संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नुले अप्रत्यासित घटना पनि निम्त्याउन सक्ने भन्दै महासंघले सचेत समेत गराउँदै सूचना संकलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भएता पनि यस्तो सूचना संकलन गर्दा पत्रकारिताको मार्यादालाई ख्याल गर्नु जरुरी रहेको उसको ठहर छ ।
सूचना संकलनका नाममा सुरक्षा संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादा विपरित हुने पनि महासंघले बताएको छ । यसअघि प्रेस काउन्सिल नेपालले पनि सञ्चारकर्मी तथा प्राइम टेलिभिजनका सञ्चालक ऋषि धमलालाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो ।
शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्रै धमलाले जबरजस्ती अन्तवार्ता लिने प्रयास गरेका थिए ।












