कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
काठमाडौं, चैत २२ : नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे। प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।
सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उनले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिए । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।












