Kathmandu Press

रुपन्देहीमा मतदाता सङ्ख्या बढ्योः ३८ दलले चुनावी प्रतिस्पर्धामा भाग लिने

रुपन्देही, चैत २२ : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न...
रुपन्देहीमा मतदाता सङ्ख्या बढ्योः ३८ दलले चुनावी प्रतिस्पर्धामा भाग लिने

रुपन्देही, चैत २२ : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । 

स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदाता नामावली छाप्ने, मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण माग गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।  

आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा रुपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रुपन्देही चौथो जिल्ला हो ।

Hardik ivf

यसअघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन्। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरुष र तीन लाख आठ हजार ५७४ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका नासु टीकाराम पन्थीले जानकारी दिए । अन्य मतदाताको सङ्ख्या आठ रहेको छ। 

निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले १३ हजार ३४५ मतदाता बढेका छन् । बुटवल उपमहानगरपालिकामा अहिले ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेको थियो । यसैगरी जिल्लाका पाँच नगरपालिकामध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबैभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेका छन्। 


विसं २०७४ स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो । जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए। 

निर्वाचन आयोगले जिल्लामा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत तोकिएको छ । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरालाई तोकिएको हो । यस्तै १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पनि तोकिएको निर्वाचन कार्यालयका प्रमुख भण्डारीले बताए । जिल्लामा रहेका ७९ राजनीतिक दलमध्ये ६ ठूला दलले स्वतः चुनाव चिह्न पाइसकेका छन् । स्थानीय निर्वाचनका लागि यहाँ ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ। 

उनका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३२ दलले दल दर्ता गराएका छन् । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाउनेमा जनमत पार्टी, मङ्गोल नेसनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी र सचेत पार्टी रहेका छन्।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनीनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारूहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस (बिपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रुपमा सक्रिय छन् । यीसँगै रुपन्देहीमा ३८ दलले चुनावी प्रतिस्पर्धा गर्न पाउने छन्।  

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्