Kathmandu Press

आर्सेनिक : उपत्यकामा ०.०६ र तराईमा ०.०९ प्रतिशतसम्म भेटिएको छ, के छ सरकारी योजना ?   

वीर अस्पतालकी छालारोग विशेषज्ञ डा. अनुपमा कार्की आर्सेनिकयुक्त पानीको सेवनबाट मानिसमा छालारोग, मुटु, कलेजो, किड्नी र नसासम्बन्धी समस्यादेखि क्यान्सरसम्म निम्तिन सक्ने बताउँछिन् । 
आर्सेनिक : उपत्यकामा ०.०६ र तराईमा ०.०९ प्रतिशतसम्म भेटिएको छ, के छ सरकारी योजना ?   

काठमाडौं, चैत २२ : हामी अधिकांशका लागि ‘आर्सेनिक’ शब्द नौलो नहुन सक्छ । प्राकृतिक रूपमा पानी तथा माटोमा पाइने तत्व हो, आर्सेनिक । पछिल्लो समय मानवीय क्रियाकलापका कारण पनि वातावरणमा आर्सेनिक बढिरहेको पाइन्छ । नेपालमा प्रतिलिटर पिउने पानीमा ०.०५ मिलिग्राम आर्सेनिक हुनुलाई मानक मानिएको छ । योभन्दा बढी आर्सेनिक भए हामीलाई विविध रोग लाग्न सक्छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को वाटर क्यालिटी परीक्षण शाखाका कर्मचारी प्रेम पौडेलका अनुसार, उपत्यकामा कतैकतै आर्सेनिकको मात्रा ०.६ प्रतिशतसम्म भेटिएको छ । ‘अहिले उपत्यकाभित्र केयुकेएलले वितरण गर्ने पानीमा पनि डब्लुएचओले तोकेको ०.०५ प्रतिशतभन्दा कम मात्रामा आर्सेनिक पाइएको छ,’ पौडेल भन्छन्, ‘केयुकेएलबाहेक उपत्यकामा पानी बिक्री गर्ने निजी कम्पनीका एक–दुई स्थानका पानीका स्रोतमा डब्लुएचओको मापनभन्दा बढी मात्रामा आर्सेनिक भेटिएका छन् । त्यहाँ फिल्टरको प्रयोग गरी आर्सेेनिकको मात्रा घटाएको पाएका छौँ ।’ आर्सेनिक छान्न सक्ने फिल्टर जडान गर्न दुई लाख रूपैयाँसम्म खर्च लाग्ने उनी बताउँछन्। 

फिल्टर र केमिकलको प्रयोग : प्रवक्ता राई

Hardik ivf

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार, पछिल्ला तीन वर्षयता आर्सेनिकलाई बढी प्राथमिकतामा राखेर परीक्षण गर्न थालिएको छ । ‘केयुकेएलले बिक्री–वितरण गर्नेमध्ये कलंकीको बोरिङमा ०.५ प्रतिशतभन्दा कम मात्रामा आर्सेनिक भेटिएको थियो,’ प्रवक्ता राई भन्छन्, ‘त्यहाँको पानीमा केमिकल हाली आर्सेनिक घटाएर मात्र बिक्री गरेका छौँ।’ 

उनका अनुसार, उपत्यकामा केयुकेएलले बिक्री गर्नेबाहेक भक्तपुरको बालकोट र ललितपुरको महालक्ष्मी नगरपालिकाभित्रको बोरिङको पानीमा आर्सेनिक भेटिएको छ । ‘त्यहाँ एक मिलिग्राममा ०.०१ प्रतिशत आर्सेनिक भेटिएको छ । ०.०५ प्रतिशतसम्मको आर्सेनिकले स्वास्थ्यलाई हानि नपु¥याउने भने पनि हामीले त्यहाँको पानीलाई फिल्टर गरेर वा केमिकल हालेर मात्र खान भनेका छौँ,’ प्रवक्ता राईले भने, ‘उपत्यकामा तीबाहेक अन्य स्थानका पानीमा आर्सेनिक भेटिएको छैन।’ 

०.९ प्रतिशतसम्म आर्सेनिक

पछिल्लो समय निजी संस्थाले बिक्री गर्ने बोरिङको पानीमा आर्सेनिक परीक्षण गर्न थालिएको छ । प्रवक्ता राईका अनुसार, उपत्यकाबाहेक नवलपरासी, रूपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, चितवन, रौतहट आदि जिल्लाभित्रका बोरिङमा ०.९ प्रतिशतसम्म आर्सेनिक भेटिएको छ । ‘त्यसैले ती ठाउँका १५ स्थानीय तहमा आर्सेनिक परीक्षणलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘डब्लुएचओले तोकेभन्दा बढी मात्रामा आर्सेनिक भेटिएकाले सरकारले नै चालू आर्थिक वर्षमा बजेट छुट्ट्याएर आर्सेनिक परीक्षण गर्ने तयारी भइरहेको छ । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर आर्र्सेनिक परीक्षणलाई अगाडि बढाउने योजना छ।’

आर्सेनिक फिल्टर गर्नका लागि महँगा फिल्टर बजारमा आएका छन्, तर सबैले प्रयोग गर्न सक्दैनन् । ‘मल्टी ग्रेड फिल्टर’बाट पनि २५ प्रतिशतसम्म आर्सेनिक न्यूनीकरण गर्न सकिने राई बताउँछन् । ‘मल्टी ग्रेड फिल्डर अर्थात् भाँडामा तहगत रूपमा गिटी, बालुवा, इँटाका टुक्रा र फलामे काँटी राखेर पनि आर्सेनिक न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने। 

उनका अनुसार, घरायसी प्रयोजनका लागि खनिएका बोरिङ सबैको आर्सेनिक परीक्षण हुन सकेका छैनन् । अहिले बिक्री–वितरण गर्ने र आर्सेनिक भेटिएका आसपासका पानीमा मात्र आर्सेनिक परीक्षण भइरहेको उनी बताउँछन्।

‘देशभरका स्रोतमा आर्सेनिक परीक्षण गर्ने योजना’

खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालका अनुसार, यसअघि कुनै पानी कम्पनी वा व्यक्तिगत रूपमा कसैले पानीको परीक्षण गर्नुप¥यो भनेर आए मात्रै परीक्षण गर्न जाने गरिन्थ्यो । हरेक क्षेत्रको पानीमा गुणस्तर परीक्षण गर्ने र ल्याब बनाउने समेत आगामी योजना रहेको प्रवक्ता ढकाल बताउँछन् । ‘आगामी आर्थिक वर्षदेखि देशका हरेक पानीका स्रोतमा बृहत् रूपमा गुणस्तर परीक्षण गर्ने योजना छ,’ उनले भने, ‘बजेट प्रस्तावको तयारीमा छौँ।’ 

आर्सेनिकबाट लाग्ने रोग 

वीर अस्पतालकी छालारोग विशेषज्ञ डा. अनुपमा कार्की आर्सेनिकयुक्त पानीको सेवनबाट मानिसमा छालारोग, मुटु, कलेजो, किड्नी र नसासम्बन्धी समस्यादेखि क्यान्सरसम्म निम्तिन सक्ने बताउँछिन्। 

उनका अनुसार, छालारोग सम्बन्धी समस्या लिएर आउनेलाई परीक्षण गरेपछि मात्र आर्सेनिक भएको वा नभएको थाहा पाउन सकिन्छ । ‘आर्सेनिकयुक्त पानीको सेवनका कारण मानिसमा सुरुवाती दिनमा वाक्वाकी लाग्ने, पेट दुख्ने, खान मन नलाग्ने, झाडापखाला लाग्ने, हातखुट्टा झमझम गर्ने लक्षण देखिन सक्छ,’ डा. कार्की भन्छिन्, ‘यस्तो पानी सेवन गर्न थालेको ८–१० महिनापछि धेरैजसो छालासँगै कपाल र नङमा असर पु¥याउँछ । छालाको रंग परिवर्तन हुने, छालामा कालो र सेतो मिसिएको दाग आउने, हातको पैतालाको छाला बाक्लो तथा कडा हुने, स–साना डल्लो आउने, खस्रो–फुस्रो छाला हुने जस्ता लक्षण देखापर्न सक्छन्।’ 

उनका अनुसार, लामो समय आर्सेनिकयुक्त पानीको सेवन गर्दा मानसिक रूपमा बिर्सने समस्या पनि देखापर्न सक्छ।आर्सेनिकयुक्त पानीको सेवनले हुने रोगबाट परीक्षण गरिएको पानी पिउनुपर्ने उनी बताउँछिन्। 

टिचिङ हस्पिटलकी एसोसिएट प्रोफेसर डा. एलिज अर्यालका अनुसार, विशेषतः तरकारीबालीहरूमा विषादिको अत्यधिक प्रयोग गर्दा पनि वातावरणमा आर्सेनिक लगायत विषादिको  मात्रा बढ्न सक्छ ।  ‘जुन स्थानमा कीरा मार्नका लागि अत्यधिक मात्रामा कीटनाशक औषधि प्रयोग गर्ने गरिन्छ, त्यस स्थानको पानीमा अत्यधिक मात्रामा आर्सेनिक पाइन्छ,’ उनी भन्छिन्, ‘कीरा मार्नका लागि प्रयोग गरिने विषादी जमिनमुनिबाट पानीका मुहानसम्म पुग्छ । यसरी पनि पानीका स्रोतमा आर्सेनिक पाइने गर्छ । त्यसैले सकेसम्म हामीले बालीहरूमा कीटनाशक औषधिको प्रयोगमा कमी गर्नुपर्छ।’

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्