एमाले कार्यालय वैशाख १ बाट च्यासलकाे तुल्सीलाल स्मृति भवनमा

काठमाडाैं, चैत २१ : एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने भएको छ।
अहिले सो पार्टीको कार्यालय थापाथली हाइटमा रहेको छ। अहिलको ठाउँ साँघुरो भएकाले कार्यालय सार्न लागिएको एमालेले जनाएको छ।
कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते मुख्यालय सर्ने जानकारी दिए।
उनका अनुसार कार्यालय सञ्चालनका लागि प्रतिष्ठानको पुरै भवन भाडामा लिइएको छ। एमाले पार्टी कार्यालय एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो।
यतिखेर धमाधम प्रतिष्ठानको भवनको मर्मतसम्भार भइरहेको जनाइएको छत। भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष बन्नेछन्। भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेका छन्।
नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछन्। नयाँ कार्यालयमा मदन भण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि बनाइनेछ।
पार्टी कार्यालय सञ्चालनका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि भवन भाडामा लिइएको एमालेले जनाएको छ।
२०७२ मा गएको भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि एमालेको पार्टी कार्यालय घर भाडामा सञ्चालन हुँदै आइरहेको छ।












