Kathmandu Press

अनलाइन पत्रकारितालाई जिम्मेवार बनाउन आचारसंहिता अभिमुखीकरण

काठमाडौँ, चैत २० : प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ। काउन्सिलको पछिल्लो...
अनलाइन पत्रकारितालाई जिम्मेवार बनाउन आचारसंहिता अभिमुखीकरण

काठमाडौँ, चैत २० : प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ। काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो।

काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे सञ्चारमाध्यमलाई जानकारी दिने उद्देश्यले नियमितरुपमा अभिमुखीकरण सुरू गरेको हो। सोही शृङ्खलाअनुरुप आज प्रेस काउन्सिल नेपालमा अभिमुखीकरण सञ्चालन गरिएको थियो।

Hardik ivf

सो अभिमुखीकरणमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले विभिन्न जिल्लामा आचारसंहिता जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनले नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्यरुपमा आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास प्रेस काउन्सिलले लिएको बताए।

पत्रकारितालाई थप मर्यादित गराउन अनुगमन र कारबाही मात्रभन्दा पनि आचारसंहिता शिक्षा जरुरी रहेकाले काउन्सिलले यस कार्यक्रमको थालनी गरेको अध्यक्ष बस्नेतले बताए। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले महासङ्घ र प्रेस काउन्सिलले संयुक्तरूपमा जारी गरेको आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए।

उनले पत्रकारको निश्चित उद्देश्य र चरित्र हुुने भएकाले समाजमा पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्दै असल चरित्र निर्माणका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कायक्रम’ आवश्यक रहेको उल्लेख गरे।

आजको अभिमुखीकरणमा विज्ञका रुपमा प्रस्तुति दिँदै राससका प्रधानसम्पादक एकराज पाठकले पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ र मर्यादित पत्रकारिताको प्रवद्र्धन हुने बताए। उनले पत्रकारिता हतारको साहित्य हो भन्दै समाचार सम्प्रेषणका क्रममा सजगता अपनाउनुपर्ने र यदि गल्ती भएमा त्यसलाई सच्याउने तत्परता सबै पत्रकारमा हुनुपर्ने सुझाव दिए।

त्यस्तै अभिमुखीकरण कार्यक्रमका अर्का विज्ञ नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता विन्दुले काउन्सिलले जारी गरेको विभिन्न निर्देशिकाबारे जानकारी दिँदै आचारसंहिताले समेट्न नसकेका कुरा निर्देशिकामा आएको बताए। उनले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ मा उल्लेख प्रावधानबारे जानकारी दिएका थिए।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले नयाँ सूचीकृत हुन आउने अनलाइन सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताका बारेमा जानकारी दिँदा यसले उनीहरुलाई आगामी दिनमा पत्रकारिता गर्दा पनि यस विषयमा सजग बनाउने भएकाले नियमितरुपमा अभिमुखीकरण राखिएको बताए। आजको सो कार्यक्रममा भौतिकरूपमा र जुममार्फत अनलाइन सञ्चालक, सम्पादक एवं समाचारदाता सहभागी थिए।

प्रकाशित मिति: १९:३६ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्