Kathmandu Press

मुवाँथाईमा पराजुली र गुरुङ च्याम्पियन

मुवाँथाईमा पराजुली र गुरुङ च्याम्पियन

काठमाडौं, चैत २० : राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ किलोमा गोकर्णेश्वर क्लबका नवराज पराजुली पहिलो भएका छन्। उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरेका हुन्।

पुरुष ६३ किलोमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौँ नेसनल सुकेधाराका प्रवेग घिसिङलाई, ६० किलोमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमीलाई तथा ५८ किलोमा गोकर्णेश्वरका लाक्पा तामाङले सुकेधाराका प्रताप घिसिङलाई पराजित गर्दै स्वर्ण पदक जिते।

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको महिला प्रोफेसनलको ६० किलोमा नेपाल एपीएफ क्लबकी विद्या गुरुङले बनेपाकी चन्दा भुजेललाई हराउँदै पहिलो भइन्। फर्पिङमा भएको प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ किलोमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ किलोमा जिमखाना मुवाँथाईकी प्राप्ति वतास पहिलो भइन्। फाइनलमा केसीले सुकेधाराकी सन्जाली घिसिङ तथा वतासले स्ट्रोङगेस्टकी सुष्मा चौधरीलाई हराइन्।

सेमि प्रो फाइटको पुरुष ५०–५३ किलोमा नेपाली सेनाका कृष्ण पुनमगरले काठमाडौँको सुकेधाराका थोमन मोक्तान तथा ६९–७३ किलोमा सेनाका पदमसिंह थापाले सेनाकै प्रकाशकुमार बरुवाललाई हराउँदै पहिलो भए।

एमेच्योरतर्फ पुरुष ५३–५५ किलोमा सगरमाथा क्लब, बेलवारीका अरिक राईले केन्द्रीयका योगेन्द्र खड्का, ५६–६० किलोमा बज्रवराही क्लबका सुजन स्याङ्तानले सुकेधाराका सविर श्रेष्ठ, ६३–६५ किलोमा स्ट्रोङगेस्टका रोहित कायातले हिमालयन ब्लड दमकका युकेश धिमाललाई तथा ६७–७० किलोमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले सुकेधाराका छिरिङ फुन्जो शेर्पालाई फाइनलमा पराजित गर्दै स्वर्ण जिते।

विजेतालाई दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, आयोजक नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले पुरस्कार प्रदान गरे। प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा १३ स्पर्धामा ४६ खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १८:११ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्