Kathmandu Press

पुटिनराजमा मद्यपानमा ४० प्रतिशत कटौती

रसिया “हार्ड ड्रिङ्क” गर्नेहरूको देश भनेर कहलिएको हुनसक्छ। तर मंगलबार प्रकाशित विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार रूसमा मद्यपानको दर ४० प्रतिशतभन्दा ....

पुटिनराजमा मद्यपानमा ४० प्रतिशत कटौती

रसिया “हार्ड ड्रिङ्क” गर्नेहरूको देश भनेर कहलिएको हुनसक्छ। तर मंगलबार प्रकाशित विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार रूसमा मद्यपानको दर ४० प्रतिशतभन्दा बढिले घटेको छ। सन् २००० ताका मद्यपान दर शिखरमा थियो।

खेलप्रेमी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २००० मा सत्तामा आएपछि लागु गरिएका विभिन्न व्यवस्थाले यस्तो भएको विश्व स्वास्थ्य संगठनको दाबी छ। पुटिनले मदिराको बिक्रीमा बन्देज लगाउनुका साथै स्वस्थ जीवनशैलीको प्रवर्द्धन पनि गरेका थिए।

“रूसी संघलाई विश्वमै धेरै मद्यपान गर्ने देशमध्ये राखिदै आएको छ,” प्रतिवेदनमा भनिएको छ। सन् १९९० को दशकताका मृत्यु दर बढ्नुमा मदिराको मुख्य भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ। “तर पछिल्ला वर्षहरूमा यस्तो प्रवृत्ति घट्दै गएको छ।”

Hardik ivf

चोरीनिकासी गरिएका मदिराको उपभोग ओरोलो लागेपछि सन् २००३ देखि २०१६ सम्म प्रति व्यक्ति मदिरा उपभोग ४३ प्रतिशतले घटेको अध्ययनले देखाएको छ। यहि कारणले औसत आयु पनि बढेको छ। सन् २०१८ मा ऐतिहासिक रूपमै रूसी पुरूषको आयु ६८ र महिलाको आयु ६८ वर्ष पुगेको छ। सन् ९० को खराब वर्षहरूमा पुरूषको औसत आयु मात्रै ५७ वर्ष थियो।

पुटिनको शासनमा राति ११ बजेपछि मदिरा बिक्री गर्ने पसललाई प्रतिबन्ध लगाउनुका साथै मदिराको खुद्रा मुल्य पनि बढाइएको छ। मदिराको विज्ञापनमा पनि रोक लगाइएको छ। मस्कोको एउटा बियर बारमा मदिरापान गर्नेहरू राति पसलमा मदिरा बिक्रीवितरण गर्न निषेध गरिएकोले मानिसहरूले आंशिक रूपमा मद्यपान घटाएको बताए। तर जीवनशैलीमा गरेको परिवर्तनले पनि यसमा भूमिका खेलेको उनीहरू बताउँछन्।

“कम्तिमा हामीमध्ये केहि थोरै मात्रै पिउँछौं,” २८ वर्ष पुगेका बैंकका कर्मचारी अलेक्जेन्डर सुखोन्तसोभले बताए। मानिसहरूको व्यस्तताले पनि समय नमिल्ने उनी बताउँछन्। 

“मानिसहरूले मद्यपानलाई भिन्दै दृष्टिकोणले हेर्न थालेका छन्,” ३८ वर्षिय कम्प्युटर वैज्ञानिक रोमन पेच्निकोभले बताए। “बारहरू सभ्य हुन थालेका छन्। मानिसहरू रातभरि मद्यपान गर्न छाडेका छन्।”

सोभियत संघका अन्तिम नेता मिखाइल गुर्बाचेभ कामदारको नियमित मद्यपान गर्ने बानीलाई लिएर चिन्तित थिए। आंशिक प्रतिबन्ध लगाएर उनले मदिरोविरोधी अभियान चलाए। अभियानलाई धेरैले मनपराएनन्। फलस्वरूप सन् १९८० को मध्यदेखि १९९० सम्म मद्यपान निकै घट्यो।

सन् १९९१ मा सोभियत संघको पतन भएपछि मद्यपान फस्टायो। सन् २००० सम्म आकाशियो। राष्ट्रपति बोरिस यल्त्सिन पनि मदिराले लठ्ठ भएर सार्वजनिक स्थलमा निर्लज्ज व्यवहार गर्थे। तर पुटिन भने सार्वजनिक स्थलमा मदिरापान गरेको प्राय: देखिदैंन। उत्तरी ककेससको भ्रमणमा हुँदा भोड्काको गिलास उठाएको दृश्य भने यो महिना देखियो।

यसअघि विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले रूसी वयस्कहरूले फ्रान्सेली र जर्मन समकक्षीभन्दा औसत थोरै मद्यपान गर्ने गरेको देखाएको छ। मस्कोले धुम्रपान विरोधी अभियान सुरू गरेको छ। निजि बाल्कोनीमा समेत अब चुरोट सल्काउन पाइने छैन। ग्लोबल एडल्ट टोबाको सर्भेको पछिल्लो तथ्याङ्क अनुसर सन् २००९ देखि २०१६ सम्म सुर्तीको प्रयोग पनि घटेको छ। अहिले करिब ३० प्रतिशत रूसी अर्थात् प्रत्येक पाँचमध्ये एक जनाले मात्रै सुर्तीको प्रयोग गर्छन्।
 

प्रकाशित मिति: ०७:१२ बजे, शनिबार, असोज १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्