विवाहपछि थर नबदल्ने उपप्रमुख : हिंसापीडित महिलालाई सेफ हाउसदेखि उद्यमीलाई वस्तुगत टेवासम्म
महिलालाई सामाजिक, आर्थिक र राजनीतिक रुपमा अगाडि बढाउने र पीडित महिलालाई न्याय दिलाउने नै जुनाको उद्देश्य थियो । जनप्रतिनिधि भइसकेपछि उनलाई आफ्नो उद्देश्यमा लाग्न केही हदसम्म सहज भयो ।काठमाडौं, चैत १९ : जुना जाग्रीको घरछेउ रहेको जालपा निमाविमा कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो । कक्षा ७ मा पढ्दै गर्दा उनलाई चिन्ता भयो— अगाडि पढ्न नपाइने हो कि, दिदीको जस्तै सानै उमेरमा विवाह हुने पो हो कि !
कहिलेकाहीँ अवसर आफैँ ढोका ढकढक्याउन आउँछ, यसैलाई कतिले भाग्य भन्छन्, कतिले संयोग ।
संयोग यस्तो प¥यो, शिक्षा शाखा डोटीबाट जालपा विद्यालयमा एक कर्मचारी आए र भने– ‘पढाइमा इच्छुक छात्राका लागि डोटीको सिलगढीमा रहेको पद्म पब्लिक विद्यालयमा एउटा कोटा छ, इच्छुकले हात उठाउनुस् ।’
कक्षामा २० जनाजति छात्र र तीनजना छात्रा थिए । कुनै छात्राले हात उठाएनन्, जुनाले उठाइन् । त्यतिबेला पढ्नका लागि उठेको उनको हात अहिले स्थानीय जनताको सेवामा समर्पित छ । आज उनी बझाङको जयपृथ्वी नगरपालिकाकी उपप्रमुख छन् ।
उनको पालामा जिल्लामा बाटोघाटोको सुविधा थिएन् । उनको घरदेखि डोटीसम्म हिँडेर जान चार दिनजति लाग्थ्यो । घरबाट निस्केको चार दिनमा उनी पद्म पब्लिक मावि पुगिन्, त्यहीँबाट उनले २०४९ सालमा एसएलसी गरिन् ।
जुनाको जन्म साबिकको रिठापाटा– ८ मा भएको थियो, २०३२ फागुन ७ गते । जुना एक वर्षकी हुँदा उनकी आमाको असामायिक निधन भयो । उनका बुवा रोजगारीका लागि भारत जाने गर्थे, त्यसैले उनी ठुल्बुवाको घरमा हुर्किइन् ।
त्यतिबेला महिलालाई पढ्न अहिलेजस्तो सहज नरहेको जुना बताउँछिन् । ‘गाउँघरमा थोरैले मात्र आफ्ना छोरीहरू पढाउँथे, घरधन्दा गरेर मात्र विद्यालय जान पाउँथ्यौँ,’ जुना भन्छिन्, ‘घरमा तीन–चार बाख्रा थिए, तिनीहरूलाई बिहान ९ बजेअगाडि नै चराएर एक डोको घाँस काटेर मात्रै विद्यालय जानुपथ्र्यो ।’
डोटीमा पढ्न जान पनि उनले घरका सदस्यलाई मनाउनुपरेको थियो । छोरी घरदेखि पर बस्दा के कसो हुने हो भन्ने चिन्ता अभिभावकलाई हुनु स्वाभाविकै थियो । ‘दाइ (जेठो बुवाको छोरा)ले बुवालाई मनाउनुभयो,’ जुना भन्छिन्, ‘घरबाट स्वीकृति लिएपछि पनि डोटीसम्म कसले पु¥याउने भन्ने समस्या भयो । घरमा सबै आ–आफ्नै काममा व्यस्त थिए । अन्तमा गाउँका भरियासँग म डोटी गएँ ।’
अहिले जयपृथ्वी नगरपालिकाभित्र आठवटा उच्च मावि र जम्मा सरकारी विद्यालय ५५ वटा छन् ।
आफ्नै थर लेख्ने अडान
एसएलसीपछि जुना घर (बझाङ) आइन् । २०५० मा उनको मागी विवाह भयो, बझाङकै खप्तड छान्ना गाउँपालिकाका मानबहादुर रावलसँग । मानबहादुर पेसाले शिक्षक हुन् । जुनाले विवाहपछि राजनीतिमा पाइला टेकेकी हुन् । राजनीतिमा लाग्न श्रीमान् र परिवारबाट एकदमै साथ र समर्थन रहेको उनी बताउँछिन् ।
हाम्रो समाजमा महिलाले विवाह गरिसकेपछि माइतीपट्टिको थर परिवर्तन गरी श्रीमान्को थर राख्नुपर्ने प्रचलन छ । तर जुनाले यस चलनको खुलेर आलोचना गर्छिन् । ‘विवाहपछि सासुआमाले पनि मेरो थर परिवर्तन गर्नुप¥यो भनी कर गर्नुभएको थियो, तर मैले मानिनँ । आफ्नै थर राख्ने र परिवर्तन नगर्ने बताएँ,’ उनी भन्छिन्, ‘महिलाले फलानोको बुहारी, फलानोको श्रीमती भनेर चिनिनुपर्छ भन्ने म मान्दिनँ । मेरो नाम जुना जाग्री हो, जाग्री थरमै मेरो जन्म भयो, जुन म हटाउन चाहन्नँ ।’
‘महिला उत्थान समूह’
जुनाले गाउँकै स्कुलमा पढ्ने बेला उनका जेठा बुवा जंगबहादुर जाग्री एमालेबाट प्रधानपञ्च भएका थिए । पछि (२०५४ सालमा) जुनाका दाजु (जेठा बुवाका छोरा) पनि एमालेबाट तत्कालीन रिठापाटा गाविसका अध्यक्ष भए । बुवा र दाजुको राजनीतिक पृष्ठभूमिबाट जुना पनि राजनीतितर्फ आकर्षित हुन पुगिन् । उनले २०५४ सालमा एमाले पार्टीको सदस्य लिइन् ।
२०५४ सालमै उनले बझाङको सदरमुकाम चैनपुरमा ‘महिला उत्थान समूह’ सञ्चालन गरिन् । २०६५ सालपछि यो संस्था ‘महिला अधिकार मैत्री’का नामले दर्ता भयो, जसमा जुना चार वर्ष अध्यक्ष भइन् ।
यही संस्थामा काम गर्दा उनले ग्रामीण भेगका महिलाका समस्यालाई नजिकबाट नियाल्न थालिन् । सदरमुकाम चैनपुरमा विभिन्न समस्या लिएर गाउँदेखि महिला आउने गर्थे । ‘कति महिलाको नागरिकता हुँदैनथ्यो, कति महिला घरेलु हिंसामा परेका हुन्थे,’ जुना भन्छिन्, ‘हिंसामा परेका पीडित महिलालाई अदालत देखाइदिने र नागरिकता दिलाइदिने जस्ता काम गर्न थालेँ । यसरी नै मेरो राजनीतिक यात्रा सँगसँगै अघि बढ्दै गयो ।’
महिला सेफ हाउस
महिलालाई सामाजिक, आर्थिक र राजनीतिक रुपमा अगाडि बढाउने र पीडित महिलालाई न्याय दिलाउने नै जुनाको उद्देश्य थियो । जनप्रतिनिधि भइसकेपछि उनलाई आफ्नो उद्देश्यमा लाग्न केही हदसम्म सहज भयो ।
सुरुको वर्ष नै उनले नगरपालिकाभित्र ‘महिला सेफ हाउस’को व्यवस्था गरिन् । जनप्रतिनिधि हुनुअघि नै आफूले एउटा कोठाबाट महिला सेफ हाउस सुरु गरेको उनी बताउँछिन् । ‘संस्थामार्फत मैले सेफ हाउस चलाएकी थिएँ । जनप्रतिनिधि भइसकेपछि त्यसलाई नगरपालिकाको स्वामित्वमा ल्याएर आफैँ संयोजक भई सञ्चालन गर्दै आएकी छु,’ जुना भन्छिन्, ‘सेफ हाउसमा महिना दिनमै विभिन्न कारणले पीडित ३०–४० महिला आउने गर्छन् । यहाँ आउने अधिकांश महिलाले घरेलु हिंसा भोगेका हुन्छन् । अहिले यो जिल्लाकै सेफ हाउस बनेको छ ।’
उनका अनुसार, जयपृथ्वी नगरपालिकाका ११ वटै वडामा एक–एक सामुदायिक मनोसामाजिक कार्यकर्ता राखिएका छन् । ‘कुनै वडामा महिलामाथि हिंसा भयो भने उनीहरूले तुरुन्त फोन गरेर न्यायिक समितिमा जानकारी गराउँछन् । हामीले न्यायिक समितिमा आएका महिलाको अवस्था बुझ्छौँ,’ जुना भन्छिन्, ‘कतिलाई सम्झाइबुझाइ गरी घर पठाउँछौँ । त्यस्तो अवस्था नभए एक–दुई दिन सेफ हाउसमै राखिन्छ । अदालतै पठाउनुपर्ने भए पनि सहयोग गर्छौं ।’
उनका अनुसार, न्यायिक समितिमा घरेलुहिंसाका घटना बढी दर्ता हुने गर्छन् । त्यस्तै, ज्याला नपाएको र जग्गा सिमानासम्बन्धी घटना पनि न्यायिक समितिमा आउने गरेका छन् । ‘पाँच वर्षको कार्याकालमा दुई सय जति उजुरी दर्ता भए,’ उनले भनिन् ।
उद्यमी महिलालाई वस्तुगत टेवा कार्यक्रम
जुनाका अनुसार, उद्यम गर्न चाहने महिलाका लागि २०७५ सालमा ‘उद्यमी महिलालाई वस्तु टेवा कार्यक्रम’ ल्याइएको छ । नगरपालिकाभित्रका महिला कसैले तरकारीखेती गर्ने, कसैले बाख्रापालन गर्ने त कसैले सिलाइकटाइ सिक्ने इच्छा राखेका हुन्छन् । आवेदन दिएका महिलाको माग अनुसार कसैको गोठसुधार गरिदिने, कसैलाई तरकारीखेतीका लागि टनेल दिने, सिलाइकटाइका लागि मेसिन दिने गरिएको जुनाको भनाइ छ । ‘उद्यमी महिलाको छनोट गरी सुविधा दिन्छौँ,’ उनी भन्छिन्, ‘पहिलो वर्ष १९ जना, दोस्रो वर्ष २२ जनाले पाए । यो वर्ष छनोटको क्रम जारी छ ।’
नगरपालिकाबाट सिलाइकटाइ तालिम दिएर १५ महिलालाई एक–एकवटा सिलाउने मेसिन दिइएको थियो । ‘अहिले उनीहरूले लुगा सिउने पसल सञ्चालन गरेका छन् । ‘केही महिलालाई बाख्रापालन तालिम पनि दिएका छौँ,’ जुना भन्छिन्, ‘केही गर्न चाहने महिलालाई सानै रूपमा भए पनि टेवा मिलोस् भनेर उद्यमी महिलालाई वस्तुगत टेवा कार्यक्रम ल्याएका हौँ ।’
उनका अनुसार, जुन कुराको माग बढी हुन्छ, त्यसै अनुसार नगरपालिकाले योजना बनाई बजेट छुट्ट्याउने गरेको छ । २०७४ सालबाटै नगरपालिकाभित्रका गर्भवती महिलाका लागि सुनौला हजार दिनको योजना ल्याइएको छ । गर्भवती महिलालाई नगरपालिकाले अन्डा र पौष्टिक आहार वितरण गर्ने गर्छ । २०७५ सालमा ३० महिलाका लागि लोकसेवा कक्षा सञ्चालन गरिएको थियो । ‘आर्थिक पाटोमा महिलालाई सबल बनाउन नगरपालिकाभित्रका एकल महिलालाई टोपी, मोजा, सुइटर बुन्ने तालिम दिएका छौँ,’ जुना भन्छिन्, ‘शिक्षामा उत्कृष्ट महिलालाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ । इसिजी कक्षा पढाउने करिब ४४ महिला शिक्षकका लागि केन्द्र सरकारले सात हजार दिन्छ । त्यसमा नगरपालिकाले थप गरेर आठ हजार दिने गरेका छौँ ।’
जयपृथ्वी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा समेत गरिएको छ । त्यस्तै, नगरपालिकाका सुत्केरी तथा गर्भवती महिलाका लागि समय समयमा स्वास्थ्य शिविर सञ्चालन गरिन्छ ।
‘महिलालाई बाटो चाहिँदैन, पानी पिउँदैनन् ?’
‘बझाङभित्रका १२ वटै पालिकाका महिला जनप्रतिनिधिसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ– हजुरले कसरी काम गर्दै आउनुभएको छ, हामीलाई त अध्यक्षले केही जानकारी नै गर्नुहुन्न,’ जुना भन्छिन्, ‘४२ करोड बजेट आउँदा त्यसमध्ये एक करोड जति महिलाका लागि छुट्ट्याउन मुस्किल हुने गरेको उहाँहरूको गुनासो सुनेँ ।’
महिलाले के गर्न सक्छन् भन्नेजस्तो हेपाहा प्रवृत्ति समाजमा अझै रहेको जुना बताउँछिन् । कार्यालयमा निणर््ाय भएका कुरामा सहभागी गराइए पनि अन्य कुरा गरेर महिलाका मुद्दालाई छायामा पारिने गरेको उनको अनुभव छ । ‘महिलालाई बाटो चाहिँदैन ? पानी पिउँदैनन् भन्ने जस्ता कुरा आउँछन् । यसले अलि असहज वातावरण सिर्जना भएको छ,’ जुना भन्छिन्, ‘हाम्रो नगरपालिकामा सहभागी नै गराउँदैनन् भन्ने छैन, तर कतिपय अवस्थामा महिला भएकै कारण कर्मचारीले सहभागी नगराएको महसुस गरेकी छु ।’
कुनै काम समयमै नभएको कुरा उठाउँदा कर्मचारीले नटेरेको पनि उनको अनुभव छ ।
महिलाले स्थानीय तहमै नेतृत्व पाउनुपर्ने उनी बताउँछिन् । ‘हुन त अहिले देशका केही विशिष्ट पदमा महिला छन्, तैपनि स्थानीय निकायमा महिला प्रमुख भई आउँदा महिलाका क्षेत्रमा अझै काम गर्न सकिनेछ,’ उनले भनिन्, ‘म अब उठेँ भने प्रमुखमै उठ्छु । अब वडाध्यक्ष पनि महिला हुनुपर्छ । नेतृत्व लिन महिलाहरू अग्रसर हुनुपर्छ ।’