Kathmandu Press

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको सानदार जित, मलेसिया बाहिरियो 

नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो।
त्रिकोणात्मक टी–२० सिरिज : नेपालको सानदार जित, मलेसिया बाहिरियो 

काठमाडौं, चैत १९ : त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियालाई पराजित गर्दै नेपालले अपराजित यात्रा कायम राखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हो। नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। हारसँगै मलेसिया भने सिरिजबाट बाहिरिएको छ। 

नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो। मलेसियाका लागि ओपनर विरानदीप सिंहले सर्वाधिक ४७ रन बनाए । अर्धशतकको नजिक पुगेका विरानदीप कमल सिंह ऐरिको बलिङमा आशिफ शेखले क्याच आउट गरेका थिए। 

विरानदीपले २६ बलमा ९ चौका प्रहार गरे। त्यस्तै ३१ बल खेलेका कप्तान अहमद फैजले ३ चौकाको मद्दतबाट ३३ रन बनाएर पभेलियन फर्किए। त्यसैगरी एनुल हाफिज र शैयद अजिजले क्रमशः १८ र १७ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर   ५ विकेटको क्षति ब्यहोर्दै २२३ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरिले शतक पूरा गरे। ५७ बल खेलेका ऐरिले १० चौका र ६ छक्का प्रहार गरी ११० रन बनाए । अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपालको चौथो शतक हो । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरिसकेका छन्। 

आजकै खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाए । टि–२० अन्तर्राष्ट्रियमा पौडेलको पहिलो अर्धशतक हो। उनले ३४ बलमा ५ चौकाको मद्दतबाट ५१ रन बनाए। ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए।

नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। हारसँगै मलेसिया भने सिरिजबाट बाहिरिएको छ। अब नेपालले उपाधिका लागि पपुवा न्युगिनीसँग खेल्ने छ।

 

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्