Kathmandu Press

जलवायु परिवर्तनका कारण महिलामा परेको असर कम गर्न गम्भीर बनौँ : मुख्यमन्त्री राउत

जनकपुर, चैत १८ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन।...
जलवायु परिवर्तनका कारण महिलामा परेको असर कम गर्न गम्भीर बनौँ : मुख्यमन्त्री राउत

जनकपुर, चैत १८ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन। साथसाथै संस्थाले आज जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलामा पारेको प्रभाव विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेकाले त्यस विषयमा सबै पक्ष जिम्मेवार भएर सोच्नुपर्ने बताए।

आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा महिलाको सहभागिता बढाउन सकिए महिलामाथि हुने हिंसा र अन्यायमा कमी ल्याउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री राउतले महिलाको सबै निकायमा सहभागिता सुनिश्चितता गर्न प्रदेश सरकारले आरक्षणको व्यवस्था गरेको बताए। सामाजिक बनोट, पुरातनवादी चिन्तन र पितृसत्तात्मक सोचका कारण अझै महिलाको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पहुँच पुग्न नसकेको जिकिर गर्दै मुख्यमन्त्री राउतले सबैले आफ्नो पुरानो सोच र चिन्तनमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए।

Hardik ivf

मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या हुनु र वन जङ्गलको क्षेत्रफल कम हुनु चिन्ताको विषय भएको चर्चा गर्दै उनले चुरे क्षेत्रमा हुने बालुवा, गिट्टी, ढुङ्गाको उत्खननलाई नियन्त्रण गर्ने निकायको भूमिका फितलो भएका कारण तराई मधेस क्षेत्र बढी जोखिममा परेकोे औँल्याए।

‘एकातिर तीव्ररूपमा वन फँडानी, चुरेको दोहन र गिट्टी, ढुङ्गाको उत्खनन भइरहेको छ भने अर्काेतिर त्यसलाई नियन्त्रण गर्ने, कानूनी कार्यान्वयन गर्ने निकायको भूमिका फितलो छ,' मुख्यमन्त्री राउतले भने,‘जसका कारण तराई मधेसमा पानीको हाहाकार देखिन थालेको, उत्पादन घट्दै गएको र बर्सेनि बाढीको समस्या बढ्दै गएको छ।' त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले चाहेको भए पनि नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो।

सर्वाेच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तनको असर हिमालदेखि तराईसम्म परेको भए पनि सबैभन्दा बढी तराई मधेसका महिलामा प्रभाव परेको बताइन।

उद्देश्यबारे प्रकाश पार्दै साथसाथै संस्थाका अध्यक्ष रचिता कार्कीले महिलाले पनि जोखिमपूर्ण कार्य गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न अगुवा महिलाको समूहले हालै कालापत्थरसम्मको पदयात्रा गरेको जानकारी दिइन। त्यही यात्राका क्रममा १० बुँदे घोषणापत्र जारी गरेको जानकारी गराउँदै उनले घोषणापत्रकै मर्म र भावनाअनुसार जलवायु परिवर्तनका कारण हिमालमा परेका असरको सन्देश मधेसमा र मधेसमा परेको प्रभावको सन्देश हिमालमा प्रवाह गर्न पदयात्रापश्चात पहिलो पटक मधेसमा कार्यक्रम गरिएको बताइन।

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्