चितवनका आठ फार्मका कुखुरामा भेटियो बर्डफ्लु
चितवन, चैत १८ : चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा बर्डफ्लु भेटिएको छ।खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएकाे भेटेरीनरी अस्पताल तथा पशु सेवा...
चितवन, चैत १८ : चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा बर्डफ्लु भेटिएको छ।
खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएकाे भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएकाे छ।
बर्डफ्लु नियन्त्रण समितिले ती फार्म र आसपासका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेकाे जनाइएकाे छ।
खैरहनी-२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, वडा १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, वडा ३ स्थित ध्रुव अधिकारीको फार्म र वडा ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएकाे छ।
त्यस्तै, भरतपुर महानगरपालिका–८ स्थित मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, वडा २३ स्थित खेमलाल भुसाल र चन्द्र भुसालको व्यावसायिक लेयर्स कुखुरा फार्म, वडा १६ स्थित एजे पोल्ट्री फार्म र वडा २३ स्थितअभिशेक रामदामको कुखुरा फार्ममा पनि बर्डफ्लु भेटिएको केन्द्रले जनाएकाे छ।
केन्द्रका अनुसार बर्डफ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी करिब ४६ सय कुखुरा रहेको र अरु फार्ममा गन्न बाँकी रहेको जनाइएकाे छ।
प्रभावित क्षेत्रभित्र बर्डफ्लु नियन्त्रण गर्न सो क्षेत्रको सात किलोमिटर परिधिमा नियमित निगरानी राख्ने निर्णय भएको जनाइएकाे छ।












