Kathmandu Press

चितवनमा विक्रमबाबा मेला सुरु

चितवन, चैत १८ : हरेक वर्ष चैते दसैंको समयमा मनाइने विक्रमबाबा मेला आज (शुक्रबार) देखि सुरु भएको छ। कोरोना कहरका कारण विगत दुई...
चितवनमा विक्रमबाबा मेला सुरु

चितवन, चैत १८ : हरेक वर्ष चैते दसैंको समयमा मनाइने विक्रमबाबा मेला आज (शुक्रबार) देखि सुरु भएको छ। कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आजदेखि सुरु भएको हो। 

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको छ। केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार दुई वर्षसम्म रोकिएको मेला सुरु भएसँगै भक्तजनको चाप बढेको छ। 

Hardik ivf

आगामी वैशाख ३ गतेसम्म लाग्ने विक्रमबाबा मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायिक वनले पार्किङ्को व्यवस्थापन गर्ने छ। पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले विक्रमबाबा मेलामा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम गरिएको बताए। 

दुई वर्षदेखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उनले बताए। उनले भने, ‘यस वर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको सङ्ख्या पाँच लाख हुने अनुमान गरेका छौं।’ पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाइएको उनले जानकारी दिए। 

मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जङ्गली जनावरको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उनको भनाइ छ। मेला सञ्चालन गर्न आउने व्यवसायीलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लीलाराज भुसालले बताए। मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिए।

आठवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ। उनले भने, ‘सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौं।’

भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ। यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन्। सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ। 

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्