Kathmandu Press

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक, असोज १६ : छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा ....

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक, असोज १६ : छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 
    
सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पीङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनःनिर्माणको कार्य हालसम्म ९० प्रतिशत काम सम्पन्न भई चाँडै नै विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए।  

हाल बाँधमा पानी भर्ने काम भइरहेको हँुदा तिहार अघि नै परीक्षण गरिने कार्यक्रम रहेकाले उत्पादित विद्युत् चाँडै नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी अधिकृत स्थापितको भनाइ छ । उक्त आयोजनाको पुनः निर्माण कार्यको लागि दुई वर्ष अघि रु सात अर्वमा चीनको सिनो हाइड्रो ब्यूरो ११ सँग सन् २०१९ को अन्त्यसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो।  

गत असार २१ गते राति चाकुखोलामा आएको बाढीले प्रसारण लाइनको पाँच वटा टावरमा क्षति पुगेको थियो । हाल त्यसको मर्मत कार्य भइरहेकाले दशैँअघि नै सम्पन्न गरिने बताइएको छ । उक्त आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगे पछि चार महीना बन्द भएको थियो । मर्मत पछि पुनः सञ्चालनमा आएलगत्तै २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपछि मर्मत कार्य हँुदै गर्दा २०७३ असार तेस्रो सातामा आएको भोटेकोशी बाढीले तहसनहस पारेपछि २०७४ सालमा पुनःनिर्माणको काम शुरु भएको हो। 

तातोपानीको १० किलोमा बाँध बाधेर ३।५ किमि सुरुङद्वारा फुल्पीङकट्टीे झिर्पुस्थित विद्युत् गृहमा पानी खसालिएको थियो । भूकम्प र बाढीले सुरुङ मार्ग र विद्युत् गृहबाहेक बाँध, पेनस्टक पाइप, प्रसारण लाइनको केही टावर तथा त्यहाँ जडित सम्पूर्ण मेशिनरी सामान तथा उपकरण समेतमा क्षति पुगेको आयोजनाले जनाएको छ। 

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, असोज १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्