स्थानीयकाे विराेधले मध्यपहाडी लोकमार्ग निर्माण अवरुद्ध
बागलुङ, माघ २२ : स्थानीय वासिन्दाकाे अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा अवरुद्ध भएकाे छ ।
....बागलुङ, माघ २२ : स्थानीय वासिन्दाकाे अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा अवरुद्ध भएकाे छ ।
सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।
१३ किमीको खण्डमा १० किमी सडक ‘ग्राबेल’ भइसके पनि बाँकी तीन किमीको काम रोकिएको छ । अवरोध हटेमा आउँदो जेठभित्रै कालोपत्र गर्न ठेकेदार कम्पनी तयार छ । अवरोध भएका ठाउँ छाडेर बीचबीचमा कालोपत्रे गर्न नमिल्ने सिद्धीसाई प्रकाश कन्सट्रक्सनका सहायक प्रमुख पुष्पकुमार शाहीले बताए ।
“अवरोध तत्काल हट्नुपर्छ, आयोजनाको यसमा ध्यान जाओस्’ उनले भने, “हामी वैशाख, जेठभित्रै कालोपत्र गर्न तयार छौँ ।” उनका अनुसार सडक विस्तारका लागि १०-१२ घरटहरा हटाउनुपर्ने अवस्था छ ।
यस्तै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाका पाइपले पनि काममा समस्या निम्त्याएको छ । आयोजनाले सडक खन्दा क्षति भएका पाइप किन्न र ठाउँ सार्न संस्थालाई ३३ लाख बुझाइएको थियो ।
ठेकेदार कम्पनीले संस्थाले बेलैमा काम नगरेको आरोप लगाएको छ । “दुईसय मिटर जतिमा अझै पाइप सार्न बाँकी छ”, ठेकेदार कम्पनीका सुपरभाइजर गणेश सुवेदीले भने । केही ठाउँमा स्थानीय खानेपानी आयोजनाका ट्याङ्कीसमेत हटाउनुपर्ने देखिएको छ ।
संस्थाका प्रबन्धक हिमाल शर्माले पहिले सहमति भएअनुसार पाइप सार्ने काम सकिएको बताए । “अझै केही ठाउँमा सार्नुपर्ने देखिएको छ”, उनले भने, “आयोजनाले थप बजेट या पाइप उपलब्ध गराए तत्काल काम हुन्छ ।”
सोही खण्डमा पर्ने बिजुलीका खम्बा सार्न आयोजनाले विद्युत् कार्यालयलाई आठ लाख उपलब्ध गराएको थियो । बागलुङ–अछेते खण्डमा खम्बा हटाइएको र अछेतेदेखि–बयलडाँडा खण्डमा खम्बा हटाउन बाँकी छ ।
मुआब्जा र क्षतिपूर्तिको टुङ्गो समयमै नलाग्दा मापदण्ड विपरीतका संरचना हटाउन ढिलाइ भएको हो । लोकमार्गका इञ्जिनीयर सरोज ढकालले अब काम नरोकिने बताए । “धेरैको क्षतिपूर्ति आएसकेको छ, केहीको आउन बाँकी छ”, उनले भने, “विवादित घरजग्गासँगै अन्य अवरोध हटाएर काम अघि बढाउँछौँ ।”