काठमाडौंलाई गण्डकी प्रदेश घुमफिरको निम्तो
काठमाडौं, असोज १६ : गण्डकी प्रदेशले काठमाडौंलाई घुम्न आउन आग्रह सहितको प्रर्वद्धन कार्यक्रम गरेको छ । प्रदेशले गत असोज ९ गतेदेखी ‘आन....
काठमाडौं, असोज १६ : गण्डकी प्रदेशले काठमाडौंलाई घुम्न आउन आग्रह सहितको प्रर्वद्धन कार्यक्रम गरेको छ । प्रदेशले गत असोज ९ गतेदेखी ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित चार प्रदेशको भ्रमण गर्दै अभियान बुधबार काठमाडौंमा सम्पन्न भएको हो।
अभियानका क्रममा गण्डकीका विभिन्न पर्यटकीय क्षेत्र देखी पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुति, प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो।
पहिलो चरणको अन्तिम कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकाश लम्सालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई गण्डकीमा घुम्नका लागि आग्रहसहितको निमन्त्रणा पत्र प्रदान गरेका थिए
टोलिले अभियानका क्रममा प्रदेश नम्बर १, २ र ३ मा मुख्यमन्त्री र प्रदेश नम्बर ५ मा पर्यटन मन्त्रीलाई भेट गरि गण्डकी घुम्ने निम्तो दिएका थिए।
पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलका अनुसार भैरहवा, बुटबल, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौडा र काठमाडौंमा व्यवसायी, सरकारी अधिकारी, नीजि क्षेत्र लयागतसँग अन्तरक्रिया कार्यक्रम गर्दै गण्डकीमा घुम्नका लागि निम्तो समेत दिईएको थियो।
असोज ९ देखि १६ गतेसम्म प्रदेश घुम्न पाहुनालाई निमन्त्रणा गर्ने योजनासहित सरकारी अधिकारी, पर्यटन व्यवसायी, कलाकार र सञ्चारकर्मीसहितको ७० जनाको प्रवद्र्धन टोली पोखराबाट भैरहवा गएका थिए।
समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षका रुपमा मनाउदैँ १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री लम्सालवाट गण्डकी घुम्ने निम्तो लिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गण्डकी नेपालकै उत्कृष्ठ गन्तव्य भएको भन्दै सबैलाई घुम्न आग्रह गरेका छन्।
उनले गण्डकी सरकारले आफ्नो प्रदेशको प्रवद्र्धन गर्न लागेकोमा खुशी व्यक्त गर्दै गण्डकी प्रवद्र्धनवाट नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्ने धारण व्यक्त गरे।






