गान्धीको सत्याग्रहको विचार अझै सान्दर्भिकः प्रधानमन्त्री
काठमाडौँ,असोज १५ः प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अझ बढी सान्दर्भिक भएको बताएक....

काठमाडौँ,असोज १५ः प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अझ बढी सान्दर्भिक भएको बताएका छन् ।
महात्मा गान्धीको १५० औँ जन्म जयन्तीका अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानबारे लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘गान्धीले सत्यका पक्षमा उभिन प्ररित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैनन् । त्यसबेलाको औपनिवेषिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो सावित भएको थियो ।’
प्रधानमन्त्री ओलीले भने, ‘विज्ञान र प्रविधिका कारण आम विनाशकारी हतियार र विष्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।’
प्रधानमन्त्रीले पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एकअर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितता हुनुपर्ने भन्दै हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने पनि बताए ।











