मुस्ताङमा बढ्दै पर्यटकको चहलपहल
गलेश्वर, चै १७ : हिमालपारीको पर्यटकीय गन्तव्य मुस्ताङमा कोरोना भाइरसको सङ्क्रमण कम भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।स्थलमार्ग र हवाईमार्गबाट गरी...
गलेश्वर, चै १७ : हिमालपारीको पर्यटकीय गन्तव्य मुस्ताङमा कोरोना भाइरसको सङ्क्रमण कम भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।
स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन्। साथै मुस्ताङको रौनक पनि फेरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ। त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ।
विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन्। विगतका वर्षमा यो बेलामा कोरोनाको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ।
चैतेदशैं नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ। केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गरेर फर्कने मनसायले २२ जनाको टोली लिएर मुस्ताङ आएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका देवलाल पौडेलले मुस्ताङ आफूले सोचेभन्दा धेरै सुन्दर रहेको र अहिले पर्यटकको चाप बढेका कारण होटल पाउनै मुस्किल परेको बताए।
मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ। त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन्।
मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ सम्म उडान भएको बताए। एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उनको भनाइ छ। (रासस)












