बुढीगण्डकीका प्रभावितलाई मुआब्जा वितरण
गोरखा, माघ २२ बुढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप एक अर्ब आठ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।
गोरखा, माघ २२ बुढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप एक अर्ब आठ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।
राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने धावाका प्रभावितलाई मुआब्जा रकम वितरण गरेको हो । “धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैङ्क खातामा रकम पठाइएका छौँ, कागजात पुगेका सबैको खातामा रकम पठाएका हौँ” आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले भने ।
आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको उनले बताए । आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैङ्क खातामा समेत रकम पठाइसकेको उनले जानकारी दिए ।
आयोजनाले यो पटक पाँच २५ डुबान प्रभावितको बैङ्क खातामा मुआब्जा रकम पठाएको आयोजनाले जनाएकाे छ ।
एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न आयोजनालाई १८ अर्ब रकम प्राप्त भएको र सो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न पुग्ने अनुमान रहेको बताए ।
त्यस्तै डुबान प्रभावित क्षेत्रमा घरगोठ, फलफूल र बोट बिरुवाको तथ्याङ्क सङ्कलनको कामसमेत अघि बढाइएको उनको भनाइ छ । एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रमा फलफूल बोटबिरुवा घरगोठको लगत सङ्कलनमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालीम प्रदान गरिसकिएको बताए ।
“मुआब्जा निर्धारण भएका सबै क्षेत्रमा जमीनको मुआब्जा वितरणको काम सकिनै लागेको छ,” आयोजना प्रमुख कार्कीले भने, “अब हामीले यसै वर्षदेखि नै घरगोठ, फलफूल र बोटबिरुवाको पनि मुआब्जा वितरण गर्न लगत सङ्कलनको काम शुरु गर्न लागेका छाै ।”