रिंगेजको भ्वाइस कलिङ सिस्टम : आफ्नै आवाजबाट एकैपटकमा हजारौसँग भोट माग्न सकिने
काठमाडौं, चैत १६ : सूचना प्रविधिको क्षेत्रमा विश्वले धेरै फड्को मारिसकेको छ । नेपालमा पनि प्रविधिको क्षेत्रमा क्रमवद्व रुपमा विभिन्न विकासहरु भइरहेका छन्। नेपालमा...
काठमाडौं, चैत १६ : सूचना प्रविधिको क्षेत्रमा विश्वले धेरै फड्को मारिसकेको छ । नेपालमा पनि प्रविधिको क्षेत्रमा क्रमवद्व रुपमा विभिन्न विकासहरु भइरहेका छन्। नेपालमा एप र म्यासेजका क्षेत्रमा धेरै प्रगती भए पनि मोबाइल टेक्नोलोजीका विषयमा भने त्यती प्रगति हुन सकेको छैन। अब नेपालमा पनि ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’को सुरुवात भएको छ।
सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको हो। भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित रहेको यो सेवाको नेपालमै पहिलो ब्यवसायिक सरुवात गरिएको रिंगेजका अध्यक्ष दिपेश रेग्मीले जानकारी दिए।
सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ रहेको रेग्मीको भनाइ छ।
प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत सँस्करण भ्वाइस कलिङ सिस्टमका रुपमा यो सेवा आएको रेग्मीको बुझाइ छ । यसलाई भ्वाइस एसमएस पनि भन्ने गरिन्छ। केही समय अगाडि मात्र सम्पन्न राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिए।
महाधिवेशनमा कांग्रेस नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, गगन कुमार थापा, विमलेन्द्र निधि, प्रकाशशरण महत, दिलेन्द्र बडु, एमाले नेता योगेश भट्टराई र पत्रकार महासंघको निर्वाचनमा रोशन पुरी लगायतले प्रतिनिधिहरुसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए।
चुनावमा भोट माग्न मात्र नभइ कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मीकाे भनाइ छ।
.png)
‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरि वेब एप्लिकेसनमा अपलोड गरिन्छ,' रेग्मीने भने, ‘निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन्। फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ। अन्त्यमा सो को प्रवाभकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ।’
कम्पनी स्थापनाको एक वर्ष करिब ५०० सेवाग्राहीहरूलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरेको कम्पनीको भनाइ छ्। सबै किसिमका परीक्षणमा यो सेवा प्रभावकारी देखिएपछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रुपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको रेग्मीको भनाइ छ।
टेलिकमको शुल्क र कम्पनिको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैंया खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिए।
यसै प्रविधिको प्रयोग गरि विभिन्न अनुसन्धान, पोलिङ, ग्राहकको गुनासो तथा प्रतिक्रिया सङ्कलन गर्न सकिने सेवा समेत सुरु गरिएको छ। यो सेवा अटोमेटेड भ्वाइससँग सम्बन्धित भएकाले अन्तरराष्ट्रिय स्तरमा समेत सेवा प्रवाह गर्ने कम्पनीको योजना रहेको छ। यसअघि कम्पनीले कोरोना महामारी ताका विविध संस्थासँगको समन्वयमा सार्वजनिक सन्देश ब्रोडकास्टिङ गरिसकेको छ । एक पटकमा एकभन्दा बढि व्यक्तिहरूको पहुँचमा तत्काल पुग्नुपर्ने सूचनाको पहुँच पुर्याउनका लागि कम्पनिले यस्तो कदम अघि सारेको हो।
रिंगेजले टेलिकम कम्पनीहरुको सहकार्यमा सेवा संचालनमा ल्याएको छ। २०२१ मा स्थापित कम्पनीले हालसम्म ७० भन्दा बढि जिल्लाहरूमा पहुँच बनाइसकेको छ। जसमा ९२.७६ प्रतिशत सहभागितामा ९९.५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन्। कुनै पनि कम्पनिका सम्बन्धित सेवाग्राहीमाझ समान सूचनाको पहुँच बनाउनु कम्पनीको उद्देश्य रहेको छ।
‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’को सेवाका लागि भूगोल र मोबाइलफोनको प्रकृतिले फरक पार्दैन। नेपालको सन्दर्भमा साक्षरता, भाषा र प्रविधिको प्रयोग चुनौतीपूर्ण छ। भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई थप्छन्, ‘यस्तोमा सम्बन्धित संस्था तथा संगठनले सर्वसाधरणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन्।’
यो सेवाको शुरुवात भएसँगै दुरदराजमा रहेका एसएमस र एपको प्रयोग गर्न नसक्ने र जुनसुकै किसिमका मोबाइलफोन प्रयोगकर्ताका लागि निकै उपयोगी समेत मान्न सकिन्छ।












