विश्वकै बहुमूल्य “स्टार्ट अप” विवर्ककाे कथा
कम्पनीले के सोचिरहेका थियौं? दी वी कम्पनीलाई अहिले सोध्ने प्रश्न यही हो, जसको सबैभन्दा लोकप्रिय ब्रान्ड विवर्क हो।
विवर्क के हो त? विवर्कले विश्वभरिका सयभन्द....
कम्पनीले के सोचिरहेका थियौं? दी वी कम्पनीलाई अहिले सोध्ने प्रश्न यही हो, जसको सबैभन्दा लोकप्रिय ब्रान्ड विवर्क हो।
विवर्क के हो त? विवर्कले विश्वभरिका सयभन्दा धेरै शहरमा बढी माग भएका कार्यालय भवनहरू लामो “लिज”मा लिन्छ। त्यसपछि त्यसलाई “रिडिजाइन, फर्निश” र “मोड्युलराइज” गर्छ। अनि नाफा कमाउने उद्देश्यले माग अनुसार फेरि भाडामा लगाउँछ। त्यसरी विवर्कबाट कार्यालय स्थान भाँडामा लिनेहरू साना “स्टार्ट अप”देखि लिएर ठूला ठूला कम्पनी पनि पर्छन्।
कति नाफा कमाउँछ? पोहोर दी वी कम्पनीलाई १.७ अर्ब अमेरिकी डलर घाटा भयो।
तर कम्पनीले यसलाई गम्भीर रूपमा लिएको छैन। अन्य समस्याग्रस्त “स्टार्ट अप” आफ्नो “स्क्यान्डल” ढाकछोप गर्छन् तर दी वी कम्पनी धृष्टतापूर्वक उभिएको छ। कम्पनीको व्यापार मोडेल प्रष्ट रूपले त्रुटिपूर्ण भएको आलोचकहरूले औंल्याउँदै आएका छन्। “रियल इस्टेट”को मन्दीले यसलाई थप जोखिममा पार्छ। उनीहरूले कम्पनीका सह संस्थापक तथा कम्पनीबाट भर्खरै निकालिएका कार्यकारी प्रमुख एडम न्युमेनलाई ज्युँदो “प्यारोडी” बताएका छन्। न्युमेन स्वार्थी र आवेगमा काम गर्ने उनीहरूको आरोप छ।
तर सन् २०१० मा स्थापना भएको विवर्क विश्वकै बहुमूल्य “स्टार्ट अप” मध्ये एक हो। निजी “फन्ड रेजिङ” को अन्तिम चरणमा कम्पनीको मूल्यांकन ४७ अर्ब अमेरिकी डलर गरिएको छ। विवर्कले आइकियाका फर्निचर, “काउच एन्ड बेञ्च फर्निसिङ” प्रयोग गर्दै “ओपन अफिस एस्थेटिक” प्रवर्द्धन गर्छ। यो अहिले एउटा सँस्कृति नै बनेको छ।
नयाँ पुस्ता अहिले यस्तै कार्यस्थलमा काम गर्न रूचाउँछ। कम्पनीका संस्थापक र लगानीकर्ता आफूलाई “वर्कप्लेस इन्नोभेटर” बताउँछन्। विभिन्न कम्पनीमा काम गर्ने व्यक्तिलाई नजिक बसेर सँगै काम गर्न बाध्य बनाउने “वि” व्यापारिक चमत्कार मात्रै नभएर विश्वव्यापी सहकार्य र एकताका लागि “फिल गुड” र भावनात्मक शक्ति भएको उनीहरू बताउँछन्।
अनि अघिल्लो साता एउटा धक्का लाग्यो जुन निश्चित थियो। व्यापारमा लगानीकर्ता आकर्षित नभएको चाल पाएपछि कम्पनीले लामो समयदेखि योजना बनाएको शेयर निष्काशन ढिलाइ गर्योा। मंगलबार मात्रै कम्पनीले न्युमेनलाई प्रमुख कार्यकारी अधिकृतबाट हटायो। दि इन्फोर्मेसन नामक वेबसाइटमा कम्पनीले एक तिहाइ जनशक्तिलाई कामबाट निकाल्नेबारे विचार गरिरहेको समाचार आयो।
यो सब कसरी भयो भनेर म घोत्लिरहेको थिएँ: यति धेरैले डुब्छ भनेर चेतावनी दिएको व्यवसायमा त्यति धेरै मानिसहरूले कसरी लगानी गरे? विले के सोंचिरहेको थियो?
अनि बल्ल पो मलाई झड्का लाग्यो: विले केही सोंचविचार गरेको थिएन।
विवर्कले लगानीकर्ता र कर्मचारीलाई कसरी डुबायो भनेर आउने साताहरूमा लेखिने नै छ। तर म अर्को कुरा प्रष्ट्याउन चाहन्छु। सकेसम्म धेरै मानिसलाई महँगा र विलासी कार्यालय स्थलमा राख्ने र स्न्याक्सजस्ता सानातिना कुराले लोभ्याउने उनीहरूको व्यापारिक अवधारणाले काम गर्नेहरूलाई पनि डुबाएको छ। उनीहरूले साझा डेस्कको अवरोधलाई बेवास्ता गर्न सक्दैनन्।
विवर्कमा काम नगरे पनि यो मोडेल काम लाग्दैन किनभने विवर्कको अन्तर्निहीत अवधारणा यो विभिन्न कार्यस्थलका लागि उत्प्रेरणा बनेको छ। सम्भवत: तपाईंका लागि पनि। शहरको बढ्दो भाडादर र गएको दशकमा अर्थतन्त्र पूर्ण रोजगार पुगेसँगै अमेरिकाका कार्यालयहरू साँघुरो बन्दै गए। कुस्मेन एन्ड वेकफिल्ड नामक कम्पनीको प्रतिवेदन अनुसार कार्यालयमा कमर्चारीले औसत करिब १९४ वर्ग फिट स्थान पाउँछन्।
सन् २००९ को तुलनामा यो ८ प्रतिशत थोरै हो। विवर्कले यो प्रवृत्तिलाई गति दिएको छ। नयाँ कार्यालयहरूमा धेरैजसो कम्पनीको तुलनामा विवर्कले घनत्व दोब्बर बनाउनसक्छ। प्रत्येक कामदारलाई ५० वर्ग फिटभन्दा थोरै स्थान उपलब्ध गराउँछ। म अन्तर्मूखि स्वभावको छु। आधुनिक कार्यालय मलाई असह्य हुन्छ जस्तो लाग्थ्यो। अनि यस्तो सोंच राख्ने म आफूलाई अजिब ठान्थें। मैले घरैदेखि काम गर्न थालेको एक दशकभन्दा धेरै भयो। अहिले न्यूयोर्कस्थित टाइम्सको प्रधान कार्यालय जाँदा म केही काम नै गर्न सक्दिनँ। आर्थिक कारणले हालै मात्र त्यहाँका “क्युबिकल”लाई “ओपन अफिस बेञ्च” मा परिणत गरिएको छ।
तर सहकर्मीहरूसँग गफिएपछि त्यस्तो सोंच्ने मै मात्र नभएको चाल पाएँ। टाइम्स मात्रै होइन आधुनिक कार्यालय नै गहन कामका लागि बनाइएको हैनन्।
गत साता मैले यो विषयमा ट्वीटरमा अनुभव बाँड्न आह्वान गरेको थिएँ। प्राप्त प्रतिक्रियाले म छक्कै परेको छु।
दी भर्जका प्रधान सम्पादक निले पटेल बैठकका लागि मात्रै कार्यालय जाने गरेको बताउँछन्। लेखन, सम्पादन र एकाग्रता आवश्यक पर्ने अरू कामका लागि उनी घरै बस्छन् किनभने कार्यालयमा ध्यान दिएर काम गर्न कठिन छ। “मेरो दिन केही बैठकबाट सुरू हुन्छ र केही बैठकमै अन्त्य हुन्छ तर बीचको समय मैले काम गर्नुपर्ने हुन्छ। कार्यालयमा त्यो काम गर्न सकिँदैन भन्ने सोंच्नु त्यो नै समस्या हो जस्तो लाग्छ,” उनले भने।
नाम बताउन नचाहने एक पत्रकारले पनि यसमा सहि थापिन्। डेस्कमा गोपनियताको अभावका कारण “घरमा हुँदाजस्तो म एकपछि अर्को फोन गर्न सक्दिनँ,” उनले सन्देश पठाइन्। तर घरमा काम गर्नुको अर्को चिन्ता पनि छ। “धेरैजसो समय म घरबाटै लेख्छु तर त्यसपछि कार्यालयमा बस्न नसकेकोमा चिन्ता हुन्छ। सम्पादकहरू मैले काम गरेको छैन भन्ने सोच्छन् कि जस्तो लाग्छ। कार्यालय जाँदा खासै काम पनि गर्न सक्दिनँ,”उनले भनिन्।
धेरै कम्पनी “ओपन अफिस” को जोखिमबारे जानकार छन्। केहीले कर्मचारीको चिन्ता कम गर्ने प्रयास पनि गरेका छन्। सान फ्रान्सिस्कोस्थित सफ्टवेयर कम्पनी फिग्माका सम्पादक कार्मेल डिएमिसिसले कार्यालयमा एउटा “शान्त क्षेत्र” तयार गर्नेबारे हाकिमलाई लामो “मेमो” लेखेको बताइन्। उनको प्रयास थोरै भए पनि सफल भयो। अहिले उनी र अन्य कर्मचारी त्यही शान्त क्षेत्रमा बानी परेका छन्। त्यस क्षेत्रको केही भाग थप डेस्क अटाउनलाई प्रयोग गरिएको छ।
उनको अनुभवले कार्यस्थलको स्थान र गोपनियताको “ह्याभ” र “ह्याभ नट” प्रकृति चित्रण गर्दछ। ठूला र धनी कम्पनीका लागि काम गर्नेलाई फाइदा छ। माइक्रोसफ्ट एउटा “मल्टी बिलियन डलर” क्याम्पसको “रिडिजाइन” गरिरहेको छ। विभिन्न प्रकारका कर्मचारीका लागि विभिन्न प्रकारको कार्यस्थल बनाउनु नै कम्पनीको उद्देश्य भएको बताइएको छ। यस्तो सुविधा सबैलाई नहुनसक्छ।
“ओपन अफिस”को पीडा गनगन गर्ने नयाँ विषय होइन। “ओपन अफिस” सहकार्यका लागि वरदान भनेर कर्मचारीलाई बेचिएको थियो। कुनै छेकबार नभएको र काम गर्ने मानिसहरू खचाखच खाँदिने भएकाले उनीहरू कुरा धेरै गर्छन्। गज्जबका नयाँ “आइडिया” आउने अनुमान पनि छ।
तर एकपछि अर्को अध्ययनले यस्ता “ओपन अफिस” ले नविनताभन्दा पनि एकाङ्कीपन बढाउने देखिएको छ। भंग भएको गोपनियता भरथेग गर्न, होहल्ला र निगरानीमा रहेको अनुभव कम गर्न “ओपन अफिस”मा काम गर्नेहरू “हेडफोन” लगाउँछन्, थोरै बोल्छन्। उनीहरू अप्ठ्यारो र असहज अनुभव भइरहेको हुन्छ।
विवर्क यही अवधारणाको अन्तिम अभिव्यक्ति हो। यसको उदय हामीसँग आधुनिक जीवनमा निजी, ध्यान एकाग्र हुने स्थानको महत्व र सुरक्षा गर्ने राम्रो तरिका केही नभएको संकेत हो। हाम्रो अनलाइन जीवन ध्यान भंग गर्ने तत्वले भरिएका छन्। हाम्रो कामकाजी जीवन पनि भिन्न छैन।