२४ वटा विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय सम्झौता
काठमाडौं, असोज १५ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास र युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच....

काठमाडौं, असोज १५ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास र युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ।
नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन्। परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुनेछन् जसमा १४४ वटा कक्षाकोठा रहनेछन्।
अपांगमैत्री यी विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ। विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन्। परियोजनाको अवधि सन् २०२१ नोभेम्बर ९२०७८ मंसिर १४० सम्म रहेको छ।
समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे। उनले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरुसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उल्लेख गरे।
नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्दै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताए।
त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पिताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्घमा पनि नयाँ आयाम थप्ने बताए।
युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए।











