एकमायाको संघर्ष : २८ वर्षमा श्रीमान् गुमाइन्, सिलाइ पेसा, सहकारी हुँदै उपाध्यक्ष बनिन्
‘इलाका प्रहरी कार्यालय दैलेखमा भिडन्त भयो रे,’ एकमायाले खबर पाइन्। उनको मनमा चिसो पस्यो। उनका श्रीमान् धनबहादुर विक त्यहीँ कार्यरत थिए। ०४७ भदौ १९ मा सल्यानका धनबहादुरसँग उनको विवाह भएका थियो।
काठमाडौं, चैत १५ : ०३१ सालमा आएको बाढीका कारण विस्थापित भएका ९३ घरपरिवारलाई ०३२ सालमा बाँकेको खजुरामा पुनर्वास गराइएको थियो। जसमा एकमाया विकको परिवार पनि थियो। तत्कालीन पञ्चायती सरकारले ती बाढीपीडितसँग चितवनको लालपुर्जा लिएर बाँकेमा तीन कट्ठा जग्गा दिने भनेको थियो। ‘त्यतिबेला बाँकेमा तीन कट्ठा दिने भने पनि पूरा दिइएन, हाम्रा बाआमाले बिस्तारै जंगल फँडानी गर्दै बस्नयोग्य बनाए,’ एकमाया भन्छिन्, ‘उब्जनीले गुजारा गर्न मुस्किल थियो।’
त्यतिबेला त्यहाँ खानेपानी, औषधि उपचार र अन्य सेवा–सुविधा थिएन। ०३३ सालमा पहिलोपटक स्कुल बनाउने निर्णय भयो। सरकारले जग्गा उपलब्ध गराइदियो। गाउँलेले तीन कोठाको भवन बनाए— माटाेको गाह्रो लगाएर खरको छानो हालेर।
यसरी एकमायाको पढाइ सुरु भयो। कक्षा ३ सम्म उनले घरछेउकै नयाँ स्कुलमा पढिन्, त्यसभन्दा माथिल्लो कक्षा पढ्न घरदेखि लगभग ६ किलोमिटर पर पुग्नुपर्थ्याे। दैनिक ६ किलोमिटर जति हिँडेर उनले कक्षा १० सम्म पढिन्। ०४४ सालमा एसएलसी दिइन् तर उत्तीर्ण हुन सकिनन्। आफू उत्तीर्ण नहुनुमा तत्कालीन राजनीतिक परिस्थिति र विद्यालयको लापरबाही भएको उनी ठान्छिन्। ‘मैले एसएलसी दिने बेला शिक्षकहरू बहुदलीय व्यवस्थाका लागि आन्दोलनमा हिँड्थे। धेरैजसो समय विद्यालय बन्द हुन्थ्यो,’ उनी भन्छिन्, ‘विद्यालय सञ्चालन हुँदा पनि शिक्षकले हाजिर मात्र गर्थे। त्यसैले त्यतिबेला हामी धेरै विद्यार्थी एसएलसी फेल भयौँ।’
उनका बुवाले उनलाई पढ्न प्रेरित त गर्थे, तर एकपटक एसएलसी फेल भएपछि आर्थिक अभाव लगायत विविध कारण उनले पुनः एसएलसी दिन सकिनन्
सिलाउन सिक्ने प्रण
कक्षा ८ मा पढ्दा एकमायाले स्काउट नेपालको सदस्य बन्ने मौका पाएकी थिइन्। स्काउटको एउटा तालिममा जान उनीसँग कपडा थिएन। उनका बुवाले जसोतसो कपडा त ल्याइदिए, तर समयमै सिलाउन पाएनन्। उनले गाउँकै सुचीकारलाई कपडा सिलाउन दिएकी थिइन्, सुचीकारले भनेको समयमा सिलाइदिएन र उनी तालिममा जान पाइनन्। ‘लुगा तयार नभएपछि तालिममा जान पाइनँ, त्यस दिन धेरै रोएँ,’ एकमाया भन्छिन्, ‘त्यही दिन मैले आफैँ लुगा सिलाउन सिक्ने प्रण गरेकी थिएँ।’

त्यसको दुई वर्षपछि अर्थात् उनले एसएलसी दिनेबित्तिकै श्रमिक आपूर्ति केन्द्रले सिलाइकटाइको तालिम दिने भयो। तालिम लिन नेपालगन्ज जानुपर्थ्याे सिकाउने सामग्री केन्द्रले दिए पनि बस्ने व्यवस्था थिएन। उनको घरदेखि नेपालगन्ज त्यस्तै १६–१७ किलोमिटर पर छ। हिँडेर आउजाउ गर्न सहज थिएन। सिलाइ सिक्ने उनको पुरानो प्रण, जहाँ इच्छा त्यहाँ उपाय भन्छन्। सुरुमा उनले घरबाट हिँडेरै जाने सोचेकी थिइन्, आवतजावत गर्दा समस्या हुने भएपछि नेपालगन्जमै कोठा भाडामा लिएर बस्न थालिन्। ‘त्यतिबेला एउटा कोठाको भाडा एक सय रुपैयाँ थियो, दुईजना मिलेर बस्न थाल्यौँ,’ एकमाया भन्छिन्, ‘मेरो भागमा ५० रुपैयाँ पर्थ्याे, त्यति व्यवस्था गर्न पनि बुवालाई हम्मे थियो।’
६ महिनाको तालिमपछि उनी १८ डिजाइनका लुगा सिलाउन सक्ने भइन्। उनीअघि उनकी दिदीले सोही तालिम लिएकी थिइन्, त्यति बेला तालिमपछि उनकी दिदीलाई मेसिन दिइएको थियो। तालिम लिई फर्केपछि एकमायाले घरमै लुगा सिलाउन थालिन्, दिदीको मेसिनमा। विभिन्न डिजाइनका लुगा सिलाउने भएकाले उनको कामको गाउँ–टोलभरि चर्चा हुन थाल्यो, गाउँलेले उनलाई काम दिन थाले। त्यतिबेला एउटा चौबन्दी सिलाएको २५, पेटिकोट सिलाएको ८ रुपैयाँ पाइन्थ्यो। गाउँमा बिजुली पुगेको थिएन। उनले रातमा पनि टुकी बालेर लुगा सिलाइन्। ‘कमाएको लाउनखानमै ठिक्क हुन्थ्यो,’ उनी भन्छिन्, ‘दुई वर्षजति घरमै सिलाएँ, तर व्यावसायिक रूपमा पसल खोल्न सकिनँ।’
जनयुद्धमा श्रीमान् मारिएपछि
‘इलाका प्रहरी कार्यालय दैलेखमा भिडन्त भयो रे,’ एकमायाले खबर पाइन्। उनको मनमा चिसो पस्यो। उनका श्रीमान् धनबहादुर विक त्यहीँ कार्यरत थिए। ०४७ भदौ १९ मा सल्यानका धनबहादुरसँग उनको विवाह भएका थियो। धनबहादुर नेपाल प्रहरीमा कार्यरत थिए। विवाहपछि एकमाया श्रीमानसँगै बसिन्। श्रीमानको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी सँगै जान्थिन्। समग्रमा उनीहरू खुसी नै थिए।
विवाहको १० वर्षमै उनीहरूको जीवनमा वज्रपात आइलाग्यो। सधैँ श्रीमानको पोस्टिङ भएकै ठाउँमा रहने एकमाया त्यति बेला नेपालगन्ज आएकी थिइन्। श्रीमान कार्यरत रहेकै कार्यालयमा माओवादीसँग भिडन्त भएको खबरले उनी आत्तिइन्। नभन्दै उनले अशुभ खबर सुन्नुप¥यो। २८ वर्षको कलिलो उमेरमै उनी विधवा हुन पुगिन्। २४ चैत ०५७ मा माओवादीसँगको भिडन्तमा धनबहादुरको मृत्यु भयो। मृत्युको तीन दिनपछि एकमायाले आफ्ना श्रीमानको शव बुझिन्।
त्यसपछि आठ र दुई वर्षका दुई छोरीको जिम्मेवारी एकमायाको काँधका आइलाग्यो। श्रीमानको मृत्युपछि उनी माइती (हालको खजुरा नगरपालिका– ३) मा बस्न थालिन्। अब भने उनलाई आफ्नो सीप प्रयोगमा नल्याई सुखै थिएन। ०५८ सालदेखि उनले माइतीमै बसेर सिलाउने पेसा अँगालिन्। योसँगै उनी स्थानीय सहकारी संस्थामा पनि आबद्ध थिइन्।
द्वन्द्वकै कारण श्रीमानको मृत्यु भएकाले द्वन्द्व रोकिनुपर्ने उनको सोच थियो। त्यसपछि उनले एकल महिलाको समूह बनाएरै आवाज उठाउन थालिन्। ‘त्यतिखेर द्वन्द्वमा मारिएका सेना, प्रहरी, सशस्त्र लगायतका श्रीमती मिलेर अभियानमा लाग्यौँ,’ उनी भन्छिन्, ‘त्यतिबेला द्वन्द्व्र रूपान्तरण गर्न र द्वन्द्वपीडित परिवारले राहत पाउनुपर्ने हाम्रो मुख्य माग थियो।’
आफूहरूको आवाजमा मानव अधिकार आयोग र सरकारका कतिपय निकायको पनि साथ रहेको उनी बताउँछिन्। यहीबीचमा उनले तीनदिने नेतृत्व विकाससम्बन्धी तालिम लिने अवसर पाइन्।, ग्रामीण स्वावलम्बन विकास केन्द्रले गाउँमै आएर तालिम दिएको थियो।
तालिम दिनका लागि गाउँका महिलाको आठवटा समूह बनाइएको थियो। त्यही समूहबाट ‘स्वावलम्बन ग्रामीण समूह’ गठन गरियो, जसमा उनी मूल समितिकाे अध्यक्ष भइन्। ‘समूह चार वर्ष पुगेपछि सहकारी बनाउने नियम थियो। हाम्रो समूह पनि सहकारी बन्यो र म संस्थापक सदस्य भएँ,’ एकमाया भन्छिन्, ‘योसँगै म एकल महिलाको अभियानमा पनि सक्रिय भइरहेँ। अभियान अन्तर्गत बाँके जिल्ला मात्र नभई देशभर आवाज उठाउन थाल्यौँ।’
द्वन्द्वपीडित एकल महिलाको अभियानसँगै सहकारीमा सक्रियता हुँदै जाँदा उनको परिचय पनि बढ्दै गयो। उनलाई राजनीतिक पार्टीले सोधखोज गर्न थाले। ‘०६३ सालमा आफ्नो पार्टीमा प्रवेश गराउन माओवादीले मलाई ९ घन्टा बन्धक बनाएका थिए, तर माओवादीमा गइनँ। किनकि माओवादीकै कारण श्रीमान् मारिएको भन्ने मनमा लागिरहेको हुन्थ्यो,’ उनी भन्छिन्, ‘अर्कोतिर म २०६० सालमै नेकपा एमालेमा आबद्ध भइरहेकी थिएँ।’
.jpg)
एमालेबाट नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला सदस्य, किसान महासंघको अञ्चल संगठन सदस्य, पार्टीको जिल्ला कमिटी सदस्य हुँदै उनको राजनीतिक यात्रा अघि बढ्यो। एमालेसँगको उनको नाता केही पुरानै थियो, उनका कान्छा बुबा (राजमणि विक) ०५४ सालमा साबिकको बागेश्वरी– ५ को वडाध्यक्षमा निर्वाचित भएका थिए। आफ्नो स्वास्थ्यमा समस्या भएकाले राजमणिले आफ्नो परिवारबाट कसैलाई राजनीतिमा ल्याउन चाहन्थे। राजमणिले त्यतिबेला जिल्लाका चर्चित नेता दलबहादुर सुनुवारसँग एकमायाको भेट गराए। उनले दलबहादुरलाई भनेका थिए, ‘मेरी छोरीलाई नेता बनाउनुप¥यो।’
एकमाया आफ्नो राजनीतिक यात्राको श्रेय कान्छा बुवालाई दिन्छिन्– ‘मलाई राजनीतिमा लाग्न प्रेरित गर्ने पहिलो व्यक्ति मेरा कान्छाबुबा हुनुहुन्छ।’
‘बजेटको अधिकार नहुँदा काम अधुरा रहे’
०७४ सम्म आइपुग्दा एकमायाको राष्ट्रिय राजनीतिमा पहुँच र स्थानीय स्तरमा प्रभाव कायम भइसकेको थियो। २०७३ फागुन २७ को निर्णय अनुसार, साबिकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाविस मिलेर खजुरा गाउँपालिका बनेको थियो। एकल महिला अभियान, सहकारी र राजनीतिमा सक्रियता कारण उनी स्थानीय स्तरमा प्रभावशाली नै थिइन्। ०७४ को स्थानीय तहको निर्वाचनमा उनलाई पार्टीले खजुराको उपाध्यक्षका लागि टिकट दियो। ‘सक्रियता र जिल्लामा कामका हिसाबले परिचित भएकाले स्थानीय तहमा निर्वाचित भएँ,’ उनी भन्छिन्।
यतिखेर उनको कार्यकाल सकिन लागेको छ। पाँच वर्षको उनको अनुभव कस्तो रह्यो त ? ‘उपाध्यक्षका लागि तोकिएको जिम्मेवारी त पाएँ तर आर्थिक अधिकार नहुँदा धेरै काम अधुरा रहे। अध्यक्ष र उपाध्यक्षको कार्य क्षेत्र तोकिएको छ,’ उनी भन्छिन्, ‘योजना बनाउने अधिकार उपाध्यक्षलाई भए पनि बजेट विनियोजनको अधिकार छैन। अध्यक्षले योजना बनाउने अधिकार दिएका छौँ भन्नुहुन्छ, तर योजना पास भएपछि सबै काम आफूले मात्र गरेको जस्तो गर्नुहुन्छ।’
पालिकाभित्रको छलफलमा पनि महिलाको संख्या न्यून भएकाले आफूहरूको कुरा लागू नभएको उनी गुनासो गर्छिन्। ‘खजुरा गाउँपालिकाभित्र १६ सदस्य छौँ, जसमा ११ पुरुष र पाँच महिला छन्,’ उनी भन्छिन्, ‘पुरुषको संख्या बढी हुँदा बहुमतले जे पारित गर्छ, त्यही कार्यान्वयन हुन्छ। अध्यक्षदेखि वडा सदस्यसम्म आ–आफ्ना क्षेत्रमा कार्यकारी भूमिकामा हुुनुप¥यो। त्यसपछि मात्र हरेक सक्षम र सबल हुन्छन्।’
राजनीति गर्नका लागि महिलाले पारिवारिक सहयोग कमै पाउने उनी बताउँछिन्। ‘महिलालाई आर्थिक चुनौती छ। आर्थिक रूपमा कमजोर भएपछि राजनीति गर्न सहज हुँदैन,’ उनको बुझाइ छ, ‘महिलालाई राजनीतिमा सक्रिय हुन आर्थिक, सामाजिक र पारिवारिक चुनौती छ। आर्थिक रूपमा सक्षम भएका महिला अगाडि बढ्न सक्छन्।’
अर्कोतिर पुरुषवादी समाज भएकाले महिलालाई घरदेखि कार्यालयसम्म विभेद रहेको उनको भनाइ छ।
सीप र सहभागिता
आफू उपाध्यक्ष बनेपछि लामो समय नीति बनाउनमै बितेको उनी बताउँछिन्। ‘हामी आइसकेपछि स्थानीयलाई च्याउखेती, कुखुरापालन, सिलाइकटाइजस्ता तालिम दियौँ,’ उनी भन्छिन्, ‘कुनै कुनै सीप निकै प्रभावकारी रह्यो भने कुनै कार्यक्रम उपलब्धिमूलक बन्न सकेन।’
कृषिमा राम्रो सम्भावना भएकाले त्यसैलाई प्रोत्साहन गर्ने काम गरिरहेको उनी बताउँछिन्। यहाँका कृषकले उत्पादित तरकारी नेपालगन्ज, बुटवल, सुर्खेतसम्म बिक्रीका लागि पुर्यायाउँछन्। ‘अधिकांश कृषिजन्य उत्पादन यहीँका हाटबजारमा बिक्री हुन्छन्,’ उनी भन्छिन्, ‘सोमबार, बिहीबार र शनिबार यहाँ हाट बजार लाग्छ।’
उनका अनुसार, उनको जिम्मेवारीमा रहेको न्यायिक समितिमा वार्षिक एक सयभन्दा बढी उजुरी आउँछन्। ‘धेरैजसो जग्गा विवादकै हुन्छन्। श्रीमान्–श्रीमती र घरपरिवारको कमै आउने गर्छन्। पालिकाका आठवटै वडामा मेलमिलाप केन्द्र बनाएका छौँ, त्यसैले कति उजुरी वडामै पर्छन्,’ उनी भन्छिन्, ‘कार्यक्षेत्रभन्दा बाहिरका उजुरीलाई घर–परिवारमा गएर पनि छलफल गर्छौं।’

अन्य उजुरीलाई मेलमिलापमा टुंग्याए पनि हिंसाको उजुरीलाई भने कारबाहीको तहमा लैजाने गरेको उनले बताइन्। समग्रमा पाँच वर्षको कार्यकाल सिकाइपूर्ण र उपलब्धिमूलक रहेको उनको अनुभव छ। ‘संघीय प्रणालीलाई बुझेर काम गर्न केही समय लागे पनि उपलब्धिमूलक रह्यो। बजेट विनियोजन, आन्तरिक स्रोतको व्यवस्थापन र खोजी गर्नुपर्ने कुरा सिक्यौँ। आवश्यक नीतिनियम बनाएका छौँ,’ उनी भन्छिन्, ‘अब प्रविधिमैत्री हुन केही समय लाग्छ। पार्टीले जिम्मेवारी दिन्छ भने अध्यक्षका लागि तयार छु।’
उनी आन्तरिक स्रोतको पहिचान गरी त्यसलाई उपलब्धिमूलक बनाउने पाटो महत्वपूर्ण मान्छिन्। ‘सरकारको बजेट मात्र पर्खंदा चाहेजस्तो विकास गर्न नसकिने रहेछ,’ उनले भनिन्।
जातीय विभेद कायमै
विद्यालय जीवनदेखि आफू जातीय विभेदको भुक्तभोगी रहेको उपाध्यक्ष विक बताउँछिन्। ‘विद्यार्थी जीवनमा मैले सार्वजनिक धारा छुन पनि पाउँदिनथेँ। कति साथीले स्कुलमा खाजा खाँदा मेरो नजिक बस्दैनथे, कतिले अलि टाढा बसेर खाऊ है भनी छुवाछुत गर्थे,’ उनी भन्छिन्, ‘साथीहरूबाटै त्यस्तो व्यवहार भए पनि मैले हिम्मत हारिनँ। १० सम्मको शिक्षालाई निरन्तरता दिइरहेँ।’
अहिले पनि समाजमा जातीय विभेद कायमै रहेको उनी बताउँछिन्। ‘पहिले ठाडै विभेद गर्थे। अहिले घुमाएर गर्छन्,’ उनी भन्छिन्, ‘अहिले हामीले हरेक कार्यक्रममा दलित लगायत उत्पीडित समुदायलाई सहभागी गराउने लक्ष्य लिएका छौँ।’











-(86)-1764936079.jpg)
