च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता
काठमाडौं, चैत १५ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबीच सम्झौता भएको...
काठमाडौं, चैत १५ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबीच सम्झौता भएको छ । सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच च्याउको अध्ययन अनुसन्धानका लागि सम्झौता भएको हो ।
बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने, अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले उक्त सहकार्य भएको मसरुम सीड नेपालले जनाएको छ । समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको हो ।
सो सम्बन्धी समझदारी पत्रमा नास्टका विज्ञान सङ्कायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश बाडेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि नेपालमा च्याउ सम्बन्धी अध्ययन अनुसन्धान गर्न थप जिम्मेवारी प्राप्त भएको र उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि एक बर्षसम्म कायम रहने नाष्टले जनाएको छ ।
सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरूमा नेतृत्वदायी भूमिका खेल्नेछ । साथै नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ ।
यस्तै, नास्टले च्याउ सम्बन्धी आवश्यक अन्य प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । फिल्डमा हुने अनुसन्धानहरूका लागि आवश्यक हुने स्थान, विजुली, पानी, जनशक्ति आदिको व्यवस्था मसरुम सीड नेपालले गर्ने भएको छ ।
नास्ट र मसरुम सीड नेपालद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार फिल्डको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने र च्याउसम्बन्धी तालिम, गोष्ठी मेलालगायत अन्य जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने जिम्मेवारी मसरुसम सीड नेपालले प्राप्त गरेको छ ।
परियोजना अवधिमा विविध बौद्धिक सम्पत्ति वा प्रकाशनमा दुवै पक्षको समान साझेदारी हुने बताइएको छ । परियोजनाको प्रभावकारी बार्षिक कार्ययोजना तथा कार्यतालिका विकास गर्न र योजनाअनुसार व्यवस्थित गर्न नाष्टका बरिष्ठ वैज्ञानिक अधिकृतको संयोजकत्वमा सदस्य रहने गरी मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबाट २ जना रहने एक परियोजना अनुसन्धान टोली गठन गरिने विज्ञप्तिमा उल्लेख छ ।












