Kathmandu Press

रुकुमकोटमा दुई सातादेखि खानेपानीको समस्या

रुकुम, चैत १५ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ। गर्मीयाम सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो।सदरमुकामसमेत रहेको...
रुकुमकोटमा दुई सातादेखि खानेपानीको समस्या

रुकुम, चैत १५ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ। गर्मीयाम सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो।

सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको छ। हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ।

Hardik ivf

अहिले पनि दुई साताभन्दा बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका–५ टाकुराका विकास बिसीले गुनासो गरे। धारामा पानी नआउदा गाग्रीमा पिउने पानीसमेत नहुने बिसीले बताए।

यस्तै काजिन्द्रामा बिएलबी होटल सञ्चालन गर्दै आएका विनोद केसीले पनि धारामा पानी नआउँदा समस्या भएको बताए। एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताए। पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको उनको भनाइ छ।

अहिले सिस्ने–५ मा तीनवटा मुहानबाट पानी आइरहेको छ। मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताए। उनका अनुसार अहिले सिस्ने–५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ। मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उनले बताए।

अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ। प्राविधिक शाहका अनुसार टाकुराको थापाटोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छाडिने छ । साँझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छाडिने शाहले बताए।

सिस्ने–५ का वडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताए। केही दिनमै खानेपानीमा देखिएको समस्या समाधान हुने वडाध्यक्ष विकको भनाइ छ।

समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उनले बताए। थाक्नाखोला खानेपानी आयोजना करिब रु पाँच करोडको लागतमा निर्माण हुन लागेको छ। (रासस)

प्रकाशित मिति: ०७:१२ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्