Kathmandu Press

प्रकाशमान सिंहले भने- महरामाथि कारवाही गरेर सरकारले खस्केको जनविश्वास आर्जन गरोस्

काठमाडौं, असोज १५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यौन दुव्र्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न सरकारल....

प्रकाशमान सिंहले भने- महरामाथि कारवाही गरेर सरकारले खस्केको जनविश्वास आर्जन गरोस्

काठमाडौं, असोज १५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यौन दुव्र्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको बताए।

नेता सिंहले देशमा कानूनी राज्य छ भन्ने स्थापित गर्न र निर्मला पन्तको मुद्दामा गुमिसकेको विश्वास फेरि जगाउन काममा सरकार र प्रशासन लाग्नु पर्ने बताए। कानून सबैका लागि समान भएको बताउँदै उनले अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाब र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए।

अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो।  सिंहले भने, ’सभामुख महरा चुकिसक्नु भएको छ। नेकपाको नेता भएपछि जे मन लाग्यो त्यहीँ गर्न पाउने? महिलालाई दुर्व्यवहार गर्ने? ढाकछोप गरेर कानूनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने? यो हुनै सक्दैन।’
 
एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए। तर महराको राजीनामा ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’ भने जसरी आएको सिंहले टिप्पणी गरे। उनले प्रश्न गरे,‘संविधानको कुनचाहिँ धाराअनुसार राजीनामा गर्नुभयो? जनतालाई भ्रममा पार्न त भएन नि।’

उनले महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने बताए। 
 

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, असोज १५, २०७६