Kathmandu Press

महिला राष्ट्रिय क्रिकेटको च्याम्पियन टोलीलाई सम्मान, जनही ५० हजार पुरस्कार घोषणा

कैलाली, चैत १३ : कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले आज...
महिला राष्ट्रिय क्रिकेटको च्याम्पियन टोलीलाई सम्मान, जनही ५० हजार पुरस्कार घोषणा

कैलाली, चैत १३ : कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले आज पोखरामा सम्मान गरेको छ।

नेपाल क्रिकेट सङ्घले आयोजना गरेको सो प्रतियोगितामा गण्डकी प्रदेशको टोलीले उपाधि जितेर प्रदेशको नाम र गौरव राख्न सफल भएको भन्दै सरकारले च्याम्पियन टोलीका १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ सदस्सीय टोलीलाई प्रशंसापत्रबाट सम्मान गरेको हो। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र आन्तरिक मामिलामन्त्री डोबोटे विश्वकर्माले संयुक्त रूपमा खेलाडीहरूलाई सम्मान गरेका थिए।

सो अवसरमा सरकारले खेलाडीहरूलाई नगद पुरस्कारको समेत घोषणा गरेको छ। अर्थमन्त्री बरालले विजेता टोलीका सदस्यहरूलाई सरकारका तर्फबाट जनही ५० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरे।

खेलाडीको प्रोत्साहन र उनीहरूलाई हौसला प्रदान गर्न सो पुरस्कार प्रदान गरिने उनले बताए। उनले भने, 'राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता भएको तपाईं सम्पूर्ण खेलाडी, अफिसियल, खेल सङ्घ लगायतलाई सरकारका तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। प्राप्त सफलताले गण्डकी प्रदेशको गौरव र शान बढेको छ।'

सो अवसरमा मन्त्री बरालले खेलकुदले व्यक्तिलाई स्वस्थ्य राख्ने मात्र नभई जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुँदा आगामी दिनमा खेल र खेलाडीको प्रवद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने बताए। आन्तरिक मामिलामन्त्री विश्वकर्माले महिला खेलाडीको सफलताले गण्डकी प्रदेशलाई ठूलो खुसी प्रदान गरेको बताए।

उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सफलता प्राप्त गर्ने र सम्भावना भएका खेलाडीहरू पलायन हुने अवस्थालाई अन्त्य गरिने बताउँदै उनले भने, 'खेल क्षेत्रमा लाग्नेहरूको जीवनको भविष्य ग्यारेन्टी सरकारले गर्छ।' गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालीन योजनाअनुसार लगानी आवश्यक भएको बताए।

गण्डकी प्रदेशका खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जीतले प्रदेशका २५ लाख जनतामा खुसी छाएको बताए। कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो।

गण्डकी प्रदेश यु–१९ महिला क्रिकेट टोलीमा मनिषा उपाध्याय (कप्तान), अञ्जली विश्वकर्मा (उपकप्तान), सिमाना केसी, ज्योत्सनिका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी,  निरु जिटी, सेरिना थापा मगर, सिर्जना पौडेल, जेनिसा खत्री, आङ पेम ल्याम्बु शेर्पा र प्रिती पराजुली रहेका छन। उक्त टोलीको टोली प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टोली व्यवस्थापकमा एलिसा लामिछाने रहेका थिए।

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्