सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, चैत १३ : काठमाडौं महानगरपालिका ८ गौशालास्थित सडकमा बा. २० च ७१२९ नम्बरको कारको ठक्करबाट पैदल यात्री नाम नखुलेका करिब ३५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर पुलमा वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लालबन्दीस्थित बिभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३२ जनाको लालबन्दीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पर्साको वीरगंज महानगरपालिका १६ नगवा चौकमा ना. २ ह २७६६ नम्बरको अटोलाई अनटेष्ट लेखिएको एम्बुलेन्सले शनिबार राति ठक्कर दिँदा अटोमा सवार सोही महानगरपालिका १६ रामटोल डेरा गरी बस्ने रौतहट गौर नगरपालिका ब्रहमपुरी घर भएका ४५ वर्षीय परीक्षण राउतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ३ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












