प्रदेश सञ्चारमाध्यम व्यवस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल निरन्तर
जनकपुर, चैत १३ : ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तता पाएको छ । प्रदेशसभाको आजको छलफलमा सदस्य...
जनकपुर, चैत १३ : ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तता पाएको छ । प्रदेशसभाको आजको छलफलमा सदस्य नवोदिताकुमारी चौधरीले प्रस्तावित विधेयक धेरै राम्रो भए पनि यसलाई सुदृढ पार्न समावेशीताको सिद्धान्तलाई समेट्नुपर्ने र हुलाकी सेवालाई व्यस्थित गर्नुपर्ने सुझाव दिइन्।
हरेक क्रियाकलापमा अग्रपङ्क्तिमा रहने सञ्चारकर्मीलाई प्रोत्साहन गर्नुपर्ने र बीमाको उचित व्यवस्थाका लागि विधेयकमा स्पष्ट पारिनुपर्ने भन्दै उनले सञ्चार क्षेत्रमा कार्यरत आदिवासी, जनजाति एवं अल्पसङ्ख्यकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिइन् । सदस्य राजकुमार ओझाले विधेयक राम्रो भएपनि प्रदेश सञ्चार प्रतिष्ठान खारेज गर्नु सरकारको हत्तोत्साही मनस्थिति हो भन्दै श्रमजीवी पत्रकारका हकमा विधेयक स्पष्ट हुनुपर्ने बताए।
उनले साना लगानीका सञ्चार माध्यमलाई विधेयकमा प्रोत्साहन गर्ने प्रावधान राख्नुपर्ने र प्रादेशिक काउन्सिल क्षमतावान हुनुपर्नेमा जोड दिए। सदस्य लीला सुब्बाले सञ्चार माध्यम एवं सञ्चारकर्मीकै बलमा व्यवस्था परिवर्तनमा सघाउ पुगेको उदाहरण दिँदै सञ्चार क्षेत्रलाई निर्भिक र स्वतन्त्र बनाउन विधेयक बाधक बन्न नहुने तर्क गरे।
शून्य समय
यसअघि आजको शून्य समयमा प्रदेशसभा सदस्य वसन्तीदेवी यादवले सरकारले प्रदेशको नामकरण गर्नमा ढिलाइ गर्न नहुने कुरामा जोड दिइन्।
बैठक अन्त्य
प्रदेशसभाको नवौँ बैठक तथा हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको उपसभामुख सरस्वती पोखरेलले जानकारी दिए। अधिवेशन अन्त्य गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्णये गरेपछि उपसभामुख पोखरेलले यससम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
नवौँ तथा हिँउदे अधिवेशन २०७८ असोज २२ गतेदेखि प्रारम्भ भएकामा १२ वटा बैठकले कूल नौ घण्टा ४२ मिनेट खर्चेको थियो । सबै बैठकको शून्य समयमा ३१ र विशेष समयमा पाँच सदस्यले आआफ्नो मत व्यक्त गरेका थिए। चालू अधिवेशनमा एक विधेयक पारित पनि भएको थियो।












