Kathmandu Press

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले पठाए दशैं खर्च

काठमाडौं, असोज १४ :  डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठ....

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले पठाए दशैं खर्च
फाइल

काठमाडौं, असोज १४ :  डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन्। 

सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही पाँच हजार रुपैयाँ खर्च पठाएका हुन्। ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन्। 

उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जाकनारी दिए। प्रधानमन्त्री ओलीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गरेको उनको निजी सचिवालयले जनाएको छ।

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो। दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए।  सो दिन मुगुमा रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी भएको थियो। 

प्रधानमन्त्रीसहित अन्य राष्ट्रिय नेता र मन्त्रीहरुले विभिन्न जिल्लामा वैशाखको पहिलो साता विद्यार्थी भर्ना गराएका थिए। अभिभावकत्व लिइएका विद्यार्थीको पढाइ बिग्रिएको र नेताहरुले चासो नदिएको भन्ने समाचारसमेत प्रकाशन भएपछि ती नेताका सचिवालयले थप चासो दिन थालेको हो।

प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गरेका थिए।  प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराएका थिए।

विसं २०७५ असोज १० गते पनि प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालयका प्रतिनिधि तथा उनका प्रेस संयोजक चेतन अधिकारीले सिरहाको उक्त विद्यालयमा पुगी ती विद्यार्थीलाई सहयोग गरी उनीहरुको पढाइ र अन्य स्थिति बुझेका थिए।  संयोजक अधिकारीले कल्याणपुरका दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेनशरी र पोसाक खर्च प्रदान गरेका थिए। सचिवालयका तर्फबाट त्यसअघि मुगुमा भर्ना गरिएको विद्यार्थीबारे चासो दिई सहयोग गरिएको थियो। रासस

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, असोज १४, २०७६