आगो लगाएर पत्नी हत्या गर्न खोजेको आरोपमा कपनबाट एकजना पक्राउ
काठमाडौं, चैत १२ : आफ्नै पत्नीलाई आगो लगाएर हत्या गर्न खोजेको आरोपमा काठमाडौंको कपनबाट एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका–७ घर...
काठमाडौं, चैत १२ : आफ्नै पत्नीलाई आगो लगाएर हत्या गर्न खोजेको आरोपमा काठमाडौंको कपनबाट एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने ४२ वर्षीय प्रवीण चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रवीणले ३० वर्षीया पत्नी अस्मिता चौधरीलाई तारपिनको तेल खन्याएर आगो लगाएर हत्या प्यास गरेको प्रहरीको भनाइ छ। शुक्रबार राति सवा ९ बजेतिर आफ्नै एक तले टिनले छाएको टहरामा प्रवीणले अस्मितालाई आगो लगाएर ढोका थुनेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
घटनाबारे थाहा पाएलगत्र्तै महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले स्थानीयको सहयोगमा ढोका तोडेर महिलाको उद्धार गरेको जनाइएको छ।
प्रहरीका अनुसार घाइते अस्मिताको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको शरीरका विभिन्न भाग जलेको छ। उनी बोल्न नसक्ने अवस्थामा छिन्।












