प्रहरी भन्छ- जाहेरी पर्नासाथ महरालाई पक्राउ गर्छौं
काठमाडौं, असोज १४ : बलात्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएर बलात्कारको आरोपमाथि छानविन सजिलो ब....

काठमाडौं, असोज १४ : बलात्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएर बलात्कारको आरोपमाथि छानविन सजिलो बनाएका महरालाई प्रहरीले पीडित महिलाले जाहेरी दिना साथ पक्राउ गर्ने जनाएको छ।
संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका महराले बलात्कार गरेको आरोप लगाएकी छन्। उनले ‘प्रहरी बोलाउँछु’ भनेपछि महरा कोठाबाट निस्केको बताएकी छन्।
महिलाले फोन गर्ने वित्तिकै प्रहरी टोली आइतबार राति नै उनको कोठामा पुगेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए। ‘हामीले लिखित उजुरी दिनुहोस् भन्दा भोलि आउँछु भन्नुभयो। अहिलेसम्म उजुरी दिनु भएको छैन,’ एसएसपी सुवेदीले भने। सुवेदीले लिखित जाहेरी पर्ना साथ अनुसन्धानका लागि प्रक्रिया सुरु गर्ने बताए।
मौखिक जानकारी पाउने वित्तिकै घटनास्थलमा पुगेको उल्लेख गर्दै उनले प्रहरीले आफ्नो काम गरिरहेको बताए। ‘प्रहरीले आफ्नो काम गरिरहेको छ। यस विषयमा प्रहरी पनि गम्भीर छ,’ एसएसपी सुवेदीले काठमाडौंप्रेससँग भने, ‘लिखित उजुरीबिना कसैलाई समात्न मिल्दैन। उजुरी आउने वित्तिकै पक्राउ गर्छौं।’
श्रीमान बाहिर रहेकाले काठमाडाैं आएपछि मात्रै उजुरी दिने महिलाले बताएको प्रहरीले जनाएको छ। उनले उजुरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ। ‘उहाँको उजुरी आएपछि सबै प्रक्रिया अघि बढाउँछौँ,’ एसएसपी सुवेदीले भने।
बलात्कार आरोप लागेपछि महराले मंगलबार उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेमार्फत राजीनामा दिएका हुन्।
महराले सभामुखबाट राजीनामा दिएपनि संघीय संसद्को सदस्यबाट भने राजीनामा दिएका छैनन्। नेकपा सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो।










