Kathmandu Press

कांग्रेसको प्रश्न- सभामुख महराले राजीनामा दिएको कि कार्यवाहक?

काठमाडौं, असोज १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो कार्यवाहक भन्....

कांग्रेसको प्रश्न- सभामुख महराले राजीनामा दिएको कि कार्यवाहक?
फाइल

काठमाडौं, असोज १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो कार्यवाहक भन्ने प्रश्न गरेको छ। 

बलात्कारको आरोप लागेपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिएका छन्। तर, उनले दिएको राजीनामा ‘पत्रमा नैतिकताका आधारमा आजैकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’  भन्ने उल्लेख छ। 

कांग्रेसले राजीनामा दिएको हो कि उपसभामुखलाई कार्यवाहक दिएको हो भन्नेबारे प्रष्ट पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग माग गरेको छ। 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख महराको राजीनामा प्रष्ट भाषामा नआएको भन्दै राजीनामा वा कार्यवाहक के हो भन्नेबारे प्रष्ट पार्नु पर्ने बताए। 

‘महराजीले छानबिन प्रक्रिया नसकिएसम्म भनेर राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ,’ शर्माले भने,‘ हाम्रो प्रश्न यो छ कि– उहाँले राजीनामा दिएको हो कि कार्यवाहक दिएको हो त्यो प्रष्ट पार्नु पर्छ।’

प्रवक्ता शर्माले बलात्कारको अभियोगबारे महरामाथि सामान्य नागरिकजस्तै गरी छानबिन हुनु पर्ने बताए। उनले भने,‘कानूनको नजरमा सबै बराबर हुन्छन्। र, निर्दोष हुन पाउने अधिकार पनि सबैलाई हुन्छ। त्यसैले महराजीमाथि लागेको अभियोगमा पनि सामान्य नागरिकझै छानबिन हुनुपर्छ।’

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, असोज १४, २०७६