एनआरएनए घले पक्षको विश्व सम्मेलन सम्पन्न

काठमाडौं, चैत ११ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को घले पक्षकाे विश्व सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले नयाँ नेतृत्व चयनसहित काठमाडौं घोषणापत्र पनि जारी गरेको छ।
मंगलबार काठमाडौंमा सुरु भएको सम्मेलनले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको हाे। संघका पूर्वअध्यक्ष तथा संरक्षक घलेको सक्रियतामा सम्मेलन भएको हो।
उक्त सम्मेलनलाई एनआरएनएको अर्को पक्षले भने अस्वीकार गरेको छ। अर्को पक्षले पनि छुट्टै सम्मेलन गर्दैछ।
एनआरएनको विधान (२००३) को सन् २०२१ संशोधन गरिएको विवादित दफा महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी व्यवस्था (६५, २५ र १०) लाई निलम्बन गर्ने, सन् २०२३ देखि महाधिवेशन प्रतिनिधि हुन संघको सदस्यता कम्तीमा एकपटक नवीकरण गरेको हुनुपर्ने निर्णय सम्मेलनले गरेको छ। तर महाधिवेशन प्रतिनिधि हुँदाको बखत निजको सदस्यता ‘भ्यालिड’ कायम पञ्जीकृत भएको हुनुपर्ने र योग्यता पुगेका सबै पञ्जीकृत सदस्यहरुलाई महाधेवेशनमा प्रतिनिधि हुन सबैलाई खुला गर्ने प्रस्ताव पारित गरिएको छ।
संघको नेतृत्व चयनका लागि उम्मेदवार हुन संघको अन्तर्राष्ट्रिय परिषद् बैठकले पारित गरेको वर्तमान मनोनयन दर्ता शुल्कलाई आधा गर्ने प्रस्ताव पारित गरेर सो प्रस्ताव यसै १०औं महाधिवेशनका लागि पनि लागू हुने व्यवस्था गिरएको छ।
त्अयसैगरी न्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा महिला संख्या सन् २०२३ सम्म २५ प्रतिशत र २०२९ सम्म ५० प्रतिशित गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ।
गैरआवासीय नेपाली संघको हाल भएका ६ वटा क्षेत्रलाई मध्येपूर्व र अफ्रिकालाई जोडेर एउटा बनाउने र अरु यथावत राख्दै जम्मा ५ क्षेत्र मध्यपूर्व तथा अफ्रिका क्षेत्र, एसिया क्षेत्र, युरोप क्षेत्र, ओसियानिया क्षेत्र र द अमेरिकाज क्षेत्र मात्र रहने निर्णय सम्मेलनले गरेको छ।
११औं महाधिवेशनदेखि हरेक क्षेत्रबाट रोटेसन सिस्टमका आधारमा केन्द्रीय अध्यक्ष पदमा चयन हुन पाउने प्रस्ताव पारित गरिएको छ। गैरआवासीय नेपाली संघको यसपूर्व गरिएको अनलाई भोटिङ व्यवस्थालाई निलम्बन गर्ने प्रस्ताव पनि पारित गरिएको छ। अब प्रतिनिधि स्वयं उपस्थित भएर भोटिङ गर्नुपर्नेछ।
नेपाल सरकारबाट गैरआवासीय नेपाली नागरिकताको पाटोलाई मात्र छुट्टै ऐन बनाएर पारित गर्न पहल गर्ने निर्णय पनि भएको छ।
विदेशमा बस्ने सबै नेपालीलाई नेपालको निर्वाचनमा भाग लिने संवैधानिक सुनिश्चितालाई तुरुन्त व्यवस्था गर्न सम्मेलनले अनुरोध गरेको छ।












