Kathmandu Press

महानगरको लगानी पार्कमा : उपत्यकाभित्र र बाहिरका १८ स्थानीय तहलाई ३३ करोड सहयोग

२७ माघ ०७५ मा काठमाडौंमा ‘नगर–नगर साझेदारी कार्यक्रम’ गरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले १० वटा छिमेकी नगरका मेयरलाई पार्क निर्माणका लागि एक–एक करोडको चेक हस्तान्तरण गरेका थिए ।
महानगरको लगानी पार्कमा : उपत्यकाभित्र र बाहिरका १८ स्थानीय तहलाई ३३ करोड सहयोग

काठमाडौं, चैत ११ : काठमाडौं महानगरपालिकाले अन्य स्थानीय तहसँग सहकार्य गरेर उपत्यकाभित्र र बाहिर गरी १८ पार्क निर्माणमा सहयोग पु¥याएको छ । 

काठमाडौं उपत्यकामा १३ वटा र उपत्यकाबाहिर पाँचवटा पार्क निर्माणका लागि पार्क अनुसार बजेट उपलब्ध गराएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।  

२७ माघ ०७५ मा काठमाडौंमा ‘नगर–नगर साझेदारी कार्यक्रम’ गरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले १० वटा छिमेकी नगरका मेयरलाई पार्क निर्माणका लागि एक–एक करोडको चेक हस्तान्तरण गरेका थिए । बजेट पाउनेमा तारकेश्वर, शंखरापुर, बूढानीलकण्ठ, कीर्तिपुर, गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली, कागेश्वरी, टोखा नगरपालिका थिए । पछि ललितपुर, चाँगुनारायण, मध्यपुर थिमी थप गरी उपत्यकाका १३ वटा स्थानीय तहलाई रकम हस्तान्तरण गरिएको थियो ।

Hardik ivf

प्रवक्ता डंगोलका अनुसार, महानगरले उपत्यकाभित्रका १३ स्थानीय तहमा पार्क निर्माणका लागि २५ करोड ५० लाख र उपत्यका बाहिरका पाँच स्थानीय तहमा पार्क निर्माणका लागि सात करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।‘पार्कको योजना अनुसार बजेट उपलब्ध गराइएको छ । महानगरले खाली ठाउँ संरक्षण र स्थानीयको मनोरञ्जनका लागि पार्कको योजना ल्याएको हो,’ प्रवक्ता डंगोल भन्छन्, ‘रकम दिइसकेका छौँ, कतै बन्दैछ भने कतै बनिसकेका छन् ।’ 

उपत्यकाभित्र कहाँ–कहाँ बने ? 

महानगरपालिकाले उपत्यकाभित्र सहकार्य गरेका १३ स्थानीय तहमध्ये टोखा नगरपालिकाले पार्क निर्माण कार्य सम्पन्न गरिसकेको छ । नगरपालिकाको वडा १ मा ‘बालमैत्री पार्क’ निर्माण कार्य सम्पन्न भएको हो । यहाँकी उपमेयर ज्ञानमाया डंगोल भन्छिन्, ‘महानगरसँगको सहकार्यमा पार्क निर्माण कार्य सम्पन्न भएको छ तर कति खर्च भयो भन्ने मलाई थाहा छैन ।’ 

त्यस्तै, महानगरपालिकाकोे सहकार्यमा बूढानीलकण्ठ नगरपालिकाले वडा ३ मा ‘ज्येष्ठ नागरिक पार्क’ निर्माण गरिरहेको छ । यहाँका मेयर उद्धवप्रसाद खरेल भन्छन्, ‘पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पार्क निर्माणमा सहकार्य गर्न महानगरले एक करोड रुपैयाँ दिएको थियो, तर पार्क बनाउन तीन करोडभन्दा बढी खर्च भइसक्यो । अझै पूरा भएको छैन । अझै एक करोड लगानी लाग्छ होला, जम्मा पाँच करोडमा सम्पन्न गराउने योजना छ ।’ बस्ने ठाउँ, पानीको फोहरा र पैदलयात्रीका लागि आकर्षक दृश्य राखेर पार्क निर्माण भइरहेको मेयर खरेल बताउँछन् । 

महानगरसँगको सहकार्यमा कीर्तिपुर नगरपालिकाको वडा १० मा ‘युद्ध स्मारक पार्क’ बनिरहेको छ । यहाँका मेयर रमेश महर्जन पार्क निर्माण सम्पन्न हुन अझै तीन वर्षजति लाग्ने बताउँछन् । ‘नाम युद्ध स्मारक पार्क राख्ने भनिए पनि विवाद भइरहेको छ, त्यसैले पछि नाम परिवर्तन हुन सक्छ,’ उनी भन्छन्, ‘पार्कका लागि अहिलेसम्म चार करोड जति खर्च भयो, दुई करोड महानगरले दिएको छ भने दुई करोड नगरपालिकाले खर्च गरेको हो ।’ 

दक्षिणकाली नगरपालिकाको वडा ५, ६ र ९ को साँधमा पर्ने टापुमा ‘दक्षिणकाली पार्क’ बन्दैछ । यहाँका मेयर मोहन बस्नेत भन्छन्, ‘महानगरले दिएको दुई करोडले डिपिआर सकिएर निर्माणको काम सुरु भएको छ । कति रकम लाग्छ र कहिले बन्छ भन्ने थाहा छैन ।’ यस्तै, उपत्यकाभित्रका बाँकी स्थानीय तहमा पार्क निर्माण कार्य भइरहेको महानगरका प्रवक्ता डंगोलको भनाइ छ ।

महानगरको सहकार्यमा पार्क निर्माण गरिरहेका बाँकी स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रवक्तालाई फोन गर्दा कतिले उठाएनन् भने कतिले आफूलाई राम्रो जानकारी नभएको बताए ।

उपत्यकाबाहिर ७ करोड ५० लाख सहयोग 

उपत्यका बाहिर पार्क निर्माणका लागि पाँच नगरपालिकालाई एक करोड ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको महानगरका प्रवक्ता डंगोल बताउँछन् । 

प्रवक्ता डंगोलका अनुसार, पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई ‘पण्डितपुर पार्क निर्माण’का लागि, जुम्लाको चन्दननाथ नगरपालिकालाई ‘चन्दननाथ पार्क’ निर्माणका लागि, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई ‘मेलम्चीनगर पार्क निर्माण’का लागि, धनकुटाको पार्खीबास नगरपालिकालाई पार्क तथा पर्यटकीय क्षेत्र विकासका लागि र डडेल्धुराको अमरगढी नगरपालिकालाई ‘अमरगढी गई पार्क निर्माण’का लागि डेढ–डेढ करोड रकम उपलब्ध गराइएको छ । ‘पाँचवटा स्थानीय तहलाई एक करोड ५० लाख रुपैयाँका दरले रकम दिइएको हो,’ प्रवक्ता डंगोल भन्छन्, ‘दुई वर्षभित्र पार्क बनाइसक्ने गरी रकम दिएका हौँ । स्थानीय तहलाई दिएको समयावधि लगभग सकिएको छ ।’ 
 

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्