सभामुखमाथिको आरोप छानबिन हुनुपर्छ : गगन थापा
बुटवल, असोज १४ : कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन्। नागरिकसरह सभामुख महरामाथिको आरोप पनि ....
बुटवल, असोज १४ : कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन्। नागरिकसरह सभामुख महरामाथिको आरोप पनि छानविन हुनुपर्ने उनको भनाइ छ।
मंगलबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सभामुख महरामाथि लागेको आरोपबाट आफू स्तब्ध भएको बताए। उनले यसमा विज्ञप्ति जारी गरेमात्र नहुने बताए। थापाले भने, ‘यो आरोप आम मान्छेमाथि लागेको भए के हुन्थ्यो? सभामुखमाथि पनि प्रचलित कानूनी व्यवस्था अनुसार छानबिन हुनुपर्छ।’
विज्ञप्तिका आधारमा घटना रफादफा गर्न नमिल्ने उनको भनाइ थियो। ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनुहुँदैन,’ थापाले भने।
उनले यस घटनामा प्रहरीले साख जोगाउने गरी काम गर्नु पर्ने बताए। ‘प्रहरीले आफ्नो गुमेको प्रतिष्ठा पुनर्स्थापना गरोस्, व्यक्तिको पदको प्रभाव नदेखियोस्,’ नेता थापाले भने। उनले नैतिक प्रश्न उठेको र मुलुकको प्रतिष्ठासित गाँसिएकाले यो आरोप झुटो सावित होस् भनेर कामना समेत गरे।
उनले महिलामाथि टिकाटिप्पणी नगर्न पनि आग्रह गरे। ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ, कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ,’ थापाले भने।
संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले सभामुख महरामाथि बलात्कारको आरोप लगाएकी थिइन्। आइतबार राति ८ बजे कोठामा आएका सभामुख महराले जबर्जस्ती गरेको उनको आरोप छ। महिरा पिएर आएका महराले कुटपिट समेत गरेको उनले बताएकी छन्।
आफूले प्रहरी बोलाउँछु भनेपछि मात्रै सभामुख महरा कोठाबाट निस्केको उनले बताएकी छन्। राति नै प्रहरी कोठामा आएर फोटो खिचेको र आफूसँग सोधपुछ गरेर गएको उनको भनाइ छ। महराको सचिवालयले यसको खण्डन गरेको छ। आइतबार सभामुख महरा २ बजेपछि कहिँ नगएको जनाएको छ।
तर, सभामुख महराले भने विभिन्न मिडियासँगको कुराकानीमा आइतबार साँझ ति महिलाको कोठामा गएको स्वीकारेका छन्। उनका श्रीमानसँग चिनजान रहेको र यसअघि पनि आउने जाने गरेको महराको भनाइ छ। तर, उनले कुनै गलत काम नगरेको दाबी गरेका छन्।






