Kathmandu Press

यी हुन् एमाले उम्मेदवार छनोटका ६ मापदण्ड

बैठकले चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गरिसक्न निर्देशन दिएको छ।
यी हुन् एमाले उम्मेदवार छनोटका ६ मापदण्ड

काठमाडौं, चैत १० : एमालेले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ वटा मापदण्ड तय गरेको छ। आज (बिहीबार) सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार  चयनका लागि ती मापदण्ड तय गरेको हाे। 

ती मापदण्डमा १. पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, २. निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, ३. लोकप्रियता र विजयको सुनिश्चितता, ४. आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, ५. कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण र ६. सन्तुलन र समावेशिता रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकले चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गरिसक्न निर्देशन दिएको छ। उम्मेदवार सिफारिसका लागि वडाध्यक्षका हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिस हुनुपर्नेछ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखका हकमा गाउँ र नगर कमिटीसँगै जिल्ला कमिटीका सिफारिसका आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने निर्णय गरिएकाे उनले जानकारी दिए।

त्यसैगरी उपमहानगर र महानगर कमिटीका हकमा सम्बन्धित कमिटीहरूको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने टुंगाे लागेको प्रचार विभाग उपप्रमुख रिजालले बताए।

केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारित गरेर त्यसैका आधारमा पार्टी पङ्क्ति परिचालित हुन निर्देशन दिएको छ।

बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम पारित गरेको छ। जिल्ला तहमा पार्टीले २९ वटा विभाग गठन गर्न सकिने निर्णय पनि पार्टीले गरेकाे छ। 

 

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्