Kathmandu Press

तिहारपछि सबै होटल र रेष्टुराँमा ताला लगाउने सत्तापक्षीय मजदुर संगठनको चेतावनी

काठमाडौं, असोज १३ : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सुरु हुने समयमा होटल क्षेत्रमा काम गर्ने मजदुर भने आन्दोलित बनेका छन्। माग पूरा नभए....

तिहारपछि सबै होटल र रेष्टुराँमा ताला लगाउने सत्तापक्षीय मजदुर संगठनको चेतावनी

काठमाडौं, असोज १३ : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सुरु हुने समयमा होटल क्षेत्रमा काम गर्ने मजदुर भने आन्दोलित बनेका छन्। माग पूरा नभए तिहारपछि होटल तथा रेष्टुराँहरु बन्द गर्ने चेतावनी सत्ता पक्षीय मजदुर संगठनहरु दिएका छन्। 

होटल, क्यासिनो तथा रेष्टुरेन्टमा काम गर्ने मजदुरहरु श्रम ऐन अनुसार होटल सञ्चालकहरुले न्यूनतम पारिश्रमिक समेत नदिएको, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा श्रमिकले कानूनी रुपमा पाउनुपर्ने १० प्रतिशत सेवा शुल्क सबै स्थानहरुमा कार्यान्वयन नभएको लगायतका माग राखेर आन्दोलित भएका छन्।

मजदुरहरुले आफूले राखेको पाँच बुँदे माग पत्रको कार्यान्वयन नभएमा आदोलनका कार्यक्रम गर्ने समेत चेतावनी दिएका छन्। सोमबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी २१ दिनभित्र मजदुरको माग सम्बोधन नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएका हुन्। 

युनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका श्रमिकको माग २१ दिनभित्र पूरा नभए सम्पूर्ण होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्र ठप्प पार्ने चेतावनी दिए। ‘हाम्रो मागलाई हल्लारुपमा चित्रण नगर्न नेपाल सरकार र व्यवस्थापन पक्षको ध्यानाकर्षण समेत गराएका छौं,’ अध्यक्ष कुँवरले भने। माग श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने मजदुर संगठनले जोड दिएका छन्।

‘नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा केही अवरोध भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने। 

युनियनका महासचिव लक्ष्मण तिवारीले क्यासिनोहरुले श्रमिकहरुका सेवा सुविधा कटौती  गरी सञ्चालन गरेको भन्दै क्यासिनोलाई मर्यादित, व्यवस्थित र कानूनी मान्यता अनुसार प्रक्रियामा गएर जिम्मेवार व्यवसायको रुपमा विकास गरी १० प्रतिशत सेवा शुल्कलाई समेत लागू गर्न आग्रह गरे।

१० प्रतिशत सेवा शुल्क जुन मर्म र भावनाअनुसार कार्यान्वयन हुन्छ भन्ने हिसावले होटल संघ नेपाल (हान) र केन्द्रीय ट्रेड यूनियम संघहरुबीच भएको सम्झौता अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। 
 

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, असोज १३, २०७६