खयरमारामा पहिरो, त्रासमा २०० घरपरिवार
महोत्तरी, चैत १० : महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ। खयरमाराको चुरे...
महोत्तरी, चैत १० : महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ। खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी इसारा लामाले बताए।
मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठूला–ठूला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो ।
तीनतलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् । खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ।
वर्षायाम लाग्नुभन्दा तीन÷चार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन् ।
वातावरण क्षेत्रमा काम गर्दै आएका बर्दिबासका नागदेव यादवले विगत एक सातादेखि तराई मधेसमा एक्कासि बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको बताएका छन्। उनले थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको पनि औंल्याए।












