वर्षौपछि बन्दीपुरका भूमिहीनले पाए पुर्जा
तनहुँ, चैत १० : बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो...
तनहुँ, चैत १० : बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको थियो।
उनीहरुले घर तथा खेती गर्दै आए पनि दुःख पर्दा बिक्री तथा बैंकमा धितो राख्नलगायतका कार्यबाट वञ्चित हुँदै आएका थिए। उनीहरुलाई करिब छ ब्लकमा गरेर पुर्जा वितरण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ।
पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाइ भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाएका भीमबहादुर गुरुङले जानकारी दिए। 'पुर्जा नपाइकनै मरिन्छ होला भन्ने सोचेको थिएँ,' उनले भन्नुभयो, 'ढिलै भए पनि पुर्जा पाइयो, खुसीको सीमा छैन।'
यसैगरी पुर्जा पाएका अर्का व्यक्ति नरबहादुर थापाले पुर्जा हातमा परेपछि बैंकबाट धितो राखेर ऋण लिएर व्यवसाय गर्न सजिलो भएको बताए। विगत लामो समयदेखि भूमिहीन बन्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुर्जा पाएपछि खुसीले गद्गद् भएको वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए।
पुर्जा वितरणकार्य लामो समयदेखि रोकिराखेको हुँदा त्यस क्षेत्रका बासिन्दालाई पुर्जा प्रदान गर्न नसकिएकाले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। 'ढिलै भए पनि पुर्जा हस्तान्तरण गर्न पाउँदा उनीहरुले राहतको महसुस गरेका छन्,' उनले भने। सेतो पुर्जा वितरणका लागि पनि फाराम भर्ने काम भइरहेको उनले बताए।
भूमि व्यवस्था सहकारी तथा निवारणमन्त्री शशी श्रेष्ठ र नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले बुधबार संयुक्तरूपमा पुर्जा हस्तान्तरण गरेका थिए।












