चितवनमा २८९ नयाँ क्षयरोगी
चितवन, चैत १० : जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन्। हरेक चार–चार महिनामा...
चितवन, चैत १० : जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन्। हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन्। भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो। यस्तै खैरहनीमा ३३, माडीमा २९, रत्ननगरमा ३२, राप्तीमा १८ र कालिका नगरपालिकामा १९ तथा इच्छाकामना गाउँपालिकामा पाँच जनामा क्षयरोग देखिएका छन्। गत आर्थिक वर्षमा जिल्लामा ८९४ जनामा क्षयरोग देखिएको उहाँले जानकारी दिए।
उनका अनुसार अहिले उपचारमा ५३५ जना छन्। गत आर्थिक वर्ष र चालु आवमा क्षयरोग पुष्टि भएका उनीहरु अहिले उपचार गराइरहेका हुन्। नेपालमा हाल ६८ हजार नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ। तीमध्ये पाँच हजार २०० जना १४ वर्षमुनिका बालबालिका छन् भने ६३ हजार नयाँ बिरामी १४ वर्षमाथिका रहेको जनस्वास्थ्य अधिकृत ढकालले बताए। नेपालमा भेटिएकामध्ये दुई हजार २०० बहुऔषधि प्रतिरोधि बिरामी रहेका छन्। सङ्क्रमितमध्ये ३३ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन्। नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ।
जनस्वास्थ्य अधिकृत ढकालका अनुसार नेपालमा प्रत्येक दिन १८९ नयाँ बिरामी भेटिने गरेका छन्। तीमध्ये १०१ बिरामी उपचारका लागि नआउने गरेका छन्। प्रत्येक दिन क्षयरोगका कारण ४७ बिरामीको मृत्यु हुने गरेको छ । उच्च मृत्युदर भएका १० वटा रोगमध्ये क्षयरोग पनि एक हो।
यो रोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन्। यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर पर्ने गर्दछ। यस रोगका लक्षणमा साँझपख हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिनु रहेका छन्। यस्तो समस्या देखिएमा खकार जाँच गर्नुपर्ने उनले बताए। परीक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उनको भनाइ छ।
आज विश्वभर क्षयरोगको अन्त्यका लागि लगानी बढाऔं : जीवन बचाऔं भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ।












