तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ : प्रचण्ड
भरतपुर, चैत १० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन्। माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना...
भरतपुर, चैत १० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन्। माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने भन्दै उहाँले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए। आउँदो निर्वाचनमा पार्टीलाई बलियो साबित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो।
गएको निर्वाचनमा आफूले गरेको वाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए। माडी उनको निर्वाचन क्षेत्र हो। पूर्वाधारका धेरै काम सम्पन्न भएको उनको भनाइ थियो। प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको दाहालले बताए।
सो स्थानमा ८६ घर रहेका छन्। संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन्। यसअघि उनले रु. ५ करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए। गत वर्ष उहाँले सो सडकको शिलान्यास गरेका थिए।
सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो। दाहालले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गरेका थिए।
दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनुभएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो। बाँकी ११ पुल निर्माणाधीन अवस्थामा रहेका छन्। माडीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर दाहाल दिउँसो भरतपुर फर्कने कार्यक्रम रहेको छ।











