Kathmandu Press

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं, चैत १० : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ ।मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित...
भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं, चैत १० : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ ।मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । 

उनका अनुसार अहिले विमानस्थलको करिब तीन हजारमात्रै भिजिबिलिटी छ । यसका कारण अहिले ‘भिएफआर’ उडान हुनसकेको छैन । विमानस्थलमा ‘आइएफआर’ उडानमात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ मात्रै उडान भइरहेको छ। सामान्य अवस्थामा प्रतिघण्टा ३० उडान हुने गरेको थियो।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा क्षणिक बदली रहेको छ । अहिले देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसअघि बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो । विमानस्थलको उडान अवतरण प्रभावित भएपछि नोटाम जारी गरिएको थियो । 

विमानस्थलका महाप्रबन्धक ठाकुरका अनुसार राडारमा सामान्य समस्या आएकाले करिब एक घण्टा उडान प्रभावित भए पनि विमानस्थलका प्राविधिकले तत्कालै मर्मतपछि अहिले उडान सामान्य अवस्थामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ र अन्तर्राष्ट्रियमा अहिले दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्