निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा
स्याङ्जा, चैत १० : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै सम्पन्न गर्नेगरी सरकारले पूर्ण तयारी गरिरहेको बताएका छन्। बिहिवार स्याङजा...
स्याङ्जा, चैत १० : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै सम्पन्न गर्नेगरी सरकारले पूर्ण तयारी गरिरहेको बताएका छन्।
बिहीबार स्याङ्जा पुगेका प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताए।
आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेकामा प्रधानमन्त्रीले जोड दिए।
कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोकै सरकार भएकाले जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ आग्रह गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा संस्कृति संरक्षणमा समेत स्थानीय सरकारले महत्वपूर्ण काम गर्नसक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन लगत्तै आजै तनहुँ पुग्ने कार्यक्रम छ । स्याङ्जामा प्रधानमन्त्री देउवालाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।











