मुख्यमन्त्री शाही र युरोपेली सङ्घका राजदूतबीच भेटवार्ता
वीरेन्द्रनगर, चैत १० : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजको टोलीले आज शिष्टाचार भेट गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
वीरेन्द्रनगर, चैत १० : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजको टोलीले आज शिष्टाचार भेट गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा युरोपेली सङ्घका राजदूतहरूले मुख्यमन्त्री शाहीसँग जलवायु परिवर्तन, खानेपानी, सिँचाइ, नवीकरणीय ऊर्जालगायतका विषयमा छलफल गरेका हुन्।
‘डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल’का राजदूत डिप्रेज नेतृत्वको टोलीले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन, पूर्वाधार, सडक पहुँचसहित सङ्घीयतापश्चात् प्रदेशको विकासबारे चासो राखेका थिए। उनीहरूले कर्णालीको कृषि र शिक्षामा पनि सहयोग गर्ने तयारी भएको जनाएका थिए।
मुख्यमन्त्री शाहीले युरोपियन देशहरूले कर्णालीमा हाल गरिरहेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिका लागि बाटो, बिजुली, वन, बजार, विचार र व्यवस्थापनलाई अघि सारेको बताए। उनले सङ्घीयता कर्णालीजस्ता क्षेत्रका लागि धेरै महत्त्वपूर्ण रहेको बताए।
मुख्यमन्त्री शालीले भने, 'स्थानीय तह जनताको चुह्लोको सरकार हो। यसले जनताका प्रत्यक्ष पीरमर्कामा नजिकै रहेर साथ दिन्छ। जनताका लागि प्रदेश देखिने र सङ्घ सुनिने सरकार हो।'
उनले प्रदेश तथा सङ्घका विकास योजनाहरू कार्यान्वयन गर्दा समन्वय र सहकार्य बढ्नुका साथै कार्यान्वयनमा सरलता आउने बताए।
भेटवार्ताको सिलसिलामा राजदूतहरूले कर्णालीमा पर्यटकीय क्षेत्र धेरै रहेको बताउँदै त्यसको विकास र प्रचार–प्रसार आवश्यक रहेको बताएका थिए। उनीहरूले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र सडक पहुँचमा प्रदेश सरकारले ध्यान दिनु प्रमुख विषय भएका सुझाएका थिए।
जर्मनीका राजदूत डा. थोमास प्रिन्स, नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोओब्राओ र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्तिनेन र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठको सहभागिता थियो।











