कांग्रेस अब तदर्थवादमा चल्न सक्दैनः कोइराला
चितवन, असोज १३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको बताएका छन्।
सोमबार भरतपुरमा पत....

चितवन, असोज १३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको बताएका छन्।
सोमबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पुर्याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए। महाधिवेशन नभई कांग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो।
‘महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने कांग्रेसलाई अप्ठ्यारो पर्ने अवस्था छ,’उनले भने। कांग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उनले भने,‘सडक र सदन तताउनुपर्छ। सडक तताउनका लागि नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ।’
नेतृत्वको कमजोरीका कारण कांग्रेस समस्यामा पर्न नहुने उनको भनाइ थियो। उनले भने,‘समयमा नै नेतृत्व चयन गरौँ। अब कांग्रेस तदर्थवादमा चल्न सक्दैन।’
जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै कोइरालाले सरकारको आलोचना गरे। ‘विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ,’उनले भने।











