आर्थिक र सामाजिक समृद्धि ल्याउन लागौँ : मन्त्री भुसाल
बनेपा, चैत ९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको...
बनेपा, चैत ९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताएकी छन्।
नेकपा माओवादी केन्द्र महाभारत–उपत्यका सम्पर्क समन्वय समितिले काभ्रको बनेपामा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न विषय अबको चुनावी एजेण्डा समावेश हुनुपर्ने बताइन्।
जनयुद्धको जगमा भएको जनआन्दोलनमार्फत नयाँ ढङ्गको क्रान्तिबाट संविधान बनाइसकेकाे उनले बताइन् । मन्त्री भुसालले सिंहदरबारको अधिकारलाई जनताको घर आँगनमा पुर्याएका कारण त्यहीँबाट सबैखाले अधिकार प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी अधिकार अबकाे स्थानीय चुनावपछि गाउँबाटै उपलब्ध गराउने बताइन्।
'संविधानको कार्यान्वयन हुँदा जनताले घर आँगनबाट नै धेरै अधिकार उपयोग गर्न पाएका छन्,' उनले भनिन्, 'तर एजेण्डा एउटाको, नेतृत्व अरुको भएको कारण अझै धेरै समस्या छन्।' ती समस्याको समाधान गर्नका लागि अब आउने निर्वाचनबाट चुनेका जनप्रतिनिधिले पूरा गर्ने भएकाले उनीहरुको विशेष भूमिका हुने मन्त्री भुसालले बताइन्।
उनले समाजमा वर्ग रहेसम्म वर्ग सङ्घर्ष भए पनि विगतको जस्तो जनयुद्ध नहुने बताइन्। उनले अबको निर्वाचनमा परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने व्यवस्थाको रक्षा गर्दै आर्थिक तथा सामाजिक जीवनमा रूपान्तरण ल्याउन जनताले अनुभूत गर्ने खालको विकास गर्ने कुरालाई मुख्य एजेण्डा बनाएर अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइन्।











