जनताको मन जिते निर्वाचन जित्छौँ : वरिष्ठ नेता पौडेल

दमाैली, चैत ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन। नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गरे।
कांग्रेस हरेक जनताको घरघरमा पुग्नुपर्ने बताउँदै जनतालाई कांग्रेसका बारेमा बुझाउनुपर्ने पौडेलको भनाइ थियो। 'निर्वाचन नजिकिँदै छ, अब गाउँगाउँमा पुगेर कार्यक्रम गर्नुपर्यो, बजार केन्द्रित हुनुभएन,' उनले भने, 'कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ।' पौडेलले जनताको मन जित्न अहिलेका मुद्दाहरूमा बहस गर्नुपर्ने बताए। जनतालाई कांग्रेसका पक्षमा आकर्षित गर्नुपर्नेमा पौडेलको जोड दिए।
वरिष्ठ नेता पौडेलले अहिलेको स्थितिमा गठबन्धन आवश्यक रहेको उल्लेख गरे। नेपालमा कांग्रेस ३० प्रतिशत र कम्युनिष्ट ७० प्रतिशत रहेको उल्लेख गर्दै कांग्रेसले जित्नका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो। 'एक्लै जित्न सकिन्छ भने त किन चाहियो र गठबन्धन ? कांग्रेसको पक्षमा ५१ प्रतिशत मत छैन त्यही भएर गठबन्धन आवश्यक छ,' पौडेलले भने। कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेको उनको भनाइ थियो। विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलले बताउए।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउँदै नेताहरूबीचको कमजोरी हटाउन आवश्यक रहेको उल्लेख गरे। केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नीतिका कारण देश अगाडि बढेको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचनका लागि खटिएका प्रतिनिधि मधु आचार्यले वैशाख ३० गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्दै तयारी गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब पार्टीभित्र एकता गरेर प्रतिपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो। देशलाई अप्ठ्यारो पर्दा निकास दिने पार्टी कांग्रेस रहेको दाबी गर्दै उनले हरेक वडामा घोषणापत्र बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।
जिल्ला सभापति जितप्रकाश आलेले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई भुलेर पार्टीको अनुशासन र दायित्वलाई सम्झिएर चुनावमा होमिनुपर्ने बताए। निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पार्टीको विधानविपरीत नजान आग्रह गरे। कार्यक्रममा बन्दीपुर, व्यास, देवघाट, आँबुखैरेनी, भानुका सभापतिहरूले घर घर जाऔँ : कांग्रेस जिताऔँ अभियानअन्तर्गत भएका कार्यका बारेमा जानकारी गराएका थिए।












