सरकारले लोकतन्त्र र संघीयतामाथि नै प्रहार गर्न खोज्यो : खाँण
जनकपुर, असोज १३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार संघीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने स....

जनकपुर, असोज १३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार संघीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप लगााएका छन्।
नेपाल प्रेस युनियन धनुषा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको आरोप लगाए। देशमा दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको उनले बताए।
एक प्रसङ्गमा प्रमुख सचेतक खाँणले वर्तमान नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप भएको बताए। नेपालको राज्य प्रणालीमा चीनको शासन शैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति कांग्रेसको आपत्ति रहेको बताए। उनले सरकारका पछिल्ला क्रियाकलापले लोकतन्त्र र सङ्घीयतामाथि प्रहार भएको बताए।
उनले सङ्घीय लोकतन्त्रको आधारशिलामा बनेको सरकारले संविधान प्रतिकूल हुने विधेयक संसद्मा प्रस्तुत गरी स्वतन्त्र पे्रस, मानवाधिकार, सुरक्षा परिषद्, नागरिकको सम्पत्तिमाथिको अधिकार हनन हुने कुचेष्टा गरिरहेको आरोप लगाए। कांग्रेस संविधानको प्रतिकूल हुने कुनै पनि विधेयक अगाडि बढ्न नदिने भन्दै उनले सरकारले एकल किसिमले सञ्चालन गर्न ऐन कानूनमा छिद्र पार्न खोज्नु देशका लागि घातक भएको बताए।
संविधानको स्वामित्व ग्रहण हुने गरी संविधान परिमार्जन हुनै पर्दछ भन्दै उनले मधेशवासीलगायत अन्य समुदायले पनि हामी सबैको संविधान हो भन्ने स्वामित्व लिने किसिमले परिमार्जन हुनुपर्ने बताए।
एक प्रसङ्गमा सरकारको नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक नरहेको टिप्पणी गरे। उनले सरकारद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नु निन्दनीय भएको बताए।











